एमालेको स्थायी कमिटीको बैठक आजपनि बस्ने
वि.सं.२०८३ असोज २४ शनिवार १०:०५
shares

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।गत बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार विभिन्न एजेन्डामा छलफल भए पनि सो विषय निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीका विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने तथा बाँकी केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा छलफल भइरहेको छ ।बिहीबार बसेको स्थायी कमिटीको पहिलो बैठकले राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन, रिक्त जिल्ला अध्यक्ष पदपूर्ति र मधेश प्रदेश सभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा उम्मेदवार सिफारिस गर्ने लगायत निर्णय गरेको थियो ।
यसैगरी, बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । एमालेले मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ । स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला कमिटीबाटै अध्यक्ष चयन गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।





































