एमसीसी का बारेमा सरकारको ११बुँदे प्रस्टीकरण यस्तो छ
वि.सं.२०७८ फागुन ५ बिहीवार १४:२२
shares

सत्तारुढ दलकै असहमति बीच पनि सरकार एमसीसी पारित गराउने अडानमा कायम छ । एमसीसीलाई छिटो टुंगोमा पुर्याउन जरुरी रहेको बताउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसका सम्बन्धमा रहेका भ्रमबारे स्पष्टीकरण दिने प्रयास गरेका छन् । कार्कीका अनुसार हाल निर्माणाधीन विद्युत् आयोजनाहरूको प्रगति हेर्दा आगामी दुई वर्षपछि सुक्खायाममासमेत विद्युत् बचत हुने देखिएकाले आन्तरिक माग पूरा गर्न, खपत वृद्धि गर्न र अझ बचत भएमा निर्यातसम्म गर्न पनि एमसीसी तत्काल सुरु गर्नुपर्ने आवश्यकता छ ।
आयोजनाको सम्पत्ति नेपालकै हुने, सम्झौता ५ वर्षभन्दा बढी नहुने, एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको जिकिर पनि सरकारले गरेको छ । एमसीसीले नेपाललाई करिब ५९ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराउने गरी २०७४ भदौ २९ मा कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो। यस सम्झौताअनुसार नेपालले नै पहिचान गरेको लप्सीफेदी–रातमाटे–हेटौँडा, रातमाटे–दमौली–बुटवल विद्युत प्रसारण लाइन निर्माण हुनेछ । यस्तै ५ वटा सडक खण्डहरूको अन्तर्राष्ट्रिय स्तर अनुरूपको मर्मत सम्भार हुने पनि सरकारको भनाइ छ । यस कम्प्याक्ट सम्झौता कार्यान्वयनमा लैजानु पूर्वका सबै पूर्व शर्त पूरा भएको भएता पनि यसलाई नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने विषयले अझै पूर्णता पाउन नसकेको सरकारको भनाइ छ ।




































