प्रधानमन्त्री देउवा दाहाल, नेपालसंग रुष्ट गठबन्धनको भबिष्य नै संकटमा
वि.सं.२०७८ फागुन ११ बुधवार १०:४१
shares

प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग आक्रोशित बन्नुभएको छ । सरकारलाई असफल बनाउन प्रचण्ड माधव नै लागेको भन्दै प्रधानमन्त्री देउवा आक्रोशित बन्नुभएको हो ।
मंगलवार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु सँगको छलफलमा प्रधानमन्त्री देउवाले यो तथ्य खोल्नुभएको हो । उहाँले प्रचण्ड माधवले धोखा दिएको भन्दै एमसीसी अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह पनि गर्नुभएको छ । बालुवाटारमा एमाले अध्यक्ष ओली सहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गर्नुभएको थियो । नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धन भित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभए सम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको रिजालले बताउनु भयो । ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ,’ प्रचार बिभाग उपप्रमुख रिजालले भन्नुभयो ।
भेटवार्ताा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षविष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी हुनुभएको थियो । बार्तामा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवसँग सँगै अघि बढने अवस्था नै नरहेको तथा सधै बेइमानी मात्रै गर्ने गरेको गुनासो समेत गर्दै एमसीसीमा सघाउन आग्रह गर्नुभएको छ । तर एमालेले आफ्नो बटमलाइन सुनाएको छ ।



































