linktrix Long Ad
Salt Trading Long Ad

पार्टी फुट्ने डरले दाहाल पुगे श्रेष्ठ निवासमा

741
shares

अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादी भित्र दुई लाइन संघर्ष चर्किएको छ । व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठ सहित पूर्वएकता केन्द्र समूहका नेताहरूले माओवादी पार्टी बाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवन स्थित नारायणकाजीको निवासमा पुगेका छन् ।

‘सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्ति पछि पूर्वएकता केन्द्रका नेताहरूले चित्त दुखाएका छन्,’ श्रेष्ठनिकट पूर्व एकता केन्द्रका एक नेताले  भने, ‘कमरेड नारायणकाजीलाई अपमान सहेर प्रचण्ड सँग बस्न सकिन्न भन्दै पूर्वसमूहका नेताहरूले दबाव दिइरहेका छन् । यही कुरो थाहा पाएर आज प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन जानुभएको हो ।’

पार्टीमा बस्न मन नलाग्नेहरू छाडेर जान सक्ने प्रचण्डको अभिव्यक्तिपछि माओवादीमा रहेका पूर्वएकता केन्द्र समूहका साथीहरू तरङ्गित बनेको ती नेताले बताए । सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी बारे असहमति राख्ने अधिकार भए पनि सार्वजनिक रुपमा बोलेर श्रेष्ठले गल्ती गरेको बताएका थिए । विचार मिल्दा र मन लाग्दासम्म एउटै पार्टीमा बस्ने हो भन्दै प्रचण्डले एकै ठाउँमा रहन नसक्नेहरु अलग हुन सक्ने भाव प्रकट थिए । तर, पूर्वएकता केन्द्रका साथीहरूले यसलाई ‘छाडेर गए हुन्छ’ भनेको अर्थमा बुझेका छन् ।

एमसीसी पारित हुँदा पार्टी भित्र र संसद्‍मा समेत गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाएका थिए । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए । पूर्वएकता केन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गरेका थिए । एमसीसीको विरोध गर्दै आएका देव गुरुङले भने पार्टी लाइनलाई समर्थन गरेको सोमबारको पत्रकार सम्मेलनमा बताए ।

युवा नेता लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने निर्णय अवैधानिक भएको र प्रचण्डको मात्रै निर्णय भएको बताएका छन् । अर्का केन्द्रीय सदस्य जीवन गौतमले पनि एमसीसी पारित गर्ने निर्णय प्रति आपत्ति जनाएका छन् । पूर्वएकता केन्द्रका नेताहरूले माओवादी बाट विद्रोह गरेर अलग्गै पार्टी बनाउन श्रेष्ठ माथि दबाव दिइरहेको स्रोतले  बतायो ।

यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । महासचिव लगायत पदाधिकारीहरू छान्ने कार्यसूची रहेको सो बैठकमा पूर्वएकताकेन्द्रका नेताहरूले फरक मत राख्ने र त्यहीँ बाट पार्टी फुट्न सक्ने सूचना पाएपछि प्रचण्डले त्यसलाई मिलाउन सक्रियता बढाएको नेताहरूले बताए । प्रचण्ड निकट स्रोतले भने फागुन २० गतेको बैठकको तयारीका क्रममा प्रचण्ड र नारायणकाजी बीच भेटघाट भएको भन्दै यसलाई सामान्यरुपमा लिन आग्रह गर्‍यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports