काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १८:४४
shares

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा सुरक्षित भएको छ ।
आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो । प्लेअफसंगै सुदूरपश्चिम पाचौंजितसहित शीर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको भने आठ अंक रहेको छ । उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो । जसमा रासिद खानले ३५ ,दुसान हेमान्थाले २१ रन जोडे ।
सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए । यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो ।
जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे । यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए ।
८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो ।काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले २ विकेट लिए ।



































