नुवाकोटको बन्चरेडाँडाका स्थानीयको समस्या समाधान गर्न सरकारले स्पेसल टास्क फोर्स गठन गर्ने
वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:०३
shares

काठमाडौंको फोहोर विसर्जनस्थल नुवाकोटको बन्चरेडाँडाका स्थानीयको समस्या समाधान गर्न सरकारले स्पेसल टास्क फोर्स गठन गर्ने भएको छ ।
स्थानीयका समस्या समाधान गर्ने गरी द्रुत गतिमा काम गर्नका लागि उक्त फोर्स गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । टास्क फोर्समा स्थानीय जनता समेत सम्मिलित हुनेछन् । ‘जनताका समस्या समाधान गर्न अनुगमनका लागि स्थानीय जनप्रतिनिधिहरु रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने, ‘जनताका समस्या तत्काल समाधान गर्न स्थानीयहरु समेत सम्मिलित स्पेसल टास्क फोर्स गठन गर्ने निर्णय भएको छ ।’
ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । फोहोर विसर्जन गर्दा त्यस क्षेत्रमा पर्ने वातावरणीय प्रभाव न्युनीकरण गर्न आवश्यक सबै कार्य गर्न सरकार प्रतिवद्ध रहेको सुनाए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले फोहोर विसर्जन गर्ने स्थानको वैज्ञानिक व्यवस्थापन गर्ने निर्णय गरेको छ । वातावरणीय असरको मूल्यांकन तथा उचित व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिने सरकारले निर्णय गरेको छ ।







































