kumari
stcnepal

असक्षम स्वास्थ्यमन्त्री राजिनामा देउ

काठमाडौ । मुलुक यतिबेला कोरोना भाइरस (कोभिड १९) ले आक्रान्त बनिरहेको छ । जनता संक्रमित हुने क्रम दिनप्रतिदिन बढिरहेको र निधन हुनेको संख्यामा समेत बृद्धि भइरहेपनि सरकार भने सत्ता बचाउने खेलमै रमाउन थालेको छ । संविधानले नै जनतालाई स्वास्थ्यको ग्यारेन्टी गरेको छ । तर सरकार भने संविधानले दिएका अधिकारहरु समेत खोसेर कोरोनाको परिक्षण पैसा तिरेर आफैँ गर भनिरहेको छ । पैसा तिर्न नसक्ने मानिसहरुले अब औषधी उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

कोरोना भाइरसको सरकारले निःशुल्क उपचार गर्ने भन्ने उद्घोष गरेको भएपनि पछिल्लो समयमा सरकारले बोली फेरिएको छ । सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको गैर जिम्मेवारीपनका करण नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकार दिन प्रतिदिन आलोचनाको पात्र बन्दै गएको छ भने त्यस विषयमा नेकपाभित्रै चर्को बहससम्म हुन थालेको छ ।

केही समय पहिला तिनै मन्त्री ढकालले कोरोना भाइरसको उपचार निशुल्क गर्ने उद्घोष पत्रकार सम्मेलन मार्फत गरेका थिए । अहिले आएर तिनै मन्त्री अब सरकारले उपचार गराउन सक्दैन भन्न थालेका छन् । भने कहिले सरकारको विरोध गर्नेहरुलाई मोतियाविन्दु भएको सम्म भन्न भ्याएका छन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न आवश्यक पर्ने औषधी र उपकरणखरिदमा भएको भनिएको अनियमिततामा मन्त्री नै संलगन भएको भन्दै छानविनका लागि अख्तियारमा लिखित उजुरी समेत परेको भएपनि अख्तियारले छानविनसम्म अघि बढाउन सकेको छैन ।

जनताले तिरेको करमाथि बह्मलुट मच्चाउनका लागि निजी कम्पनीहरुले खरिद गर्ने गरेको औषधी र उपकरणहरुको मूल्यभन्दा बढी मूल्यमा सामान ल्याउन ओम्नी ग्रुपलाई अनुमति दिएपछि त्यसको व्यापक विरोध भयो । त्यसबेला मन्त्री ढकालले भनिदिए पत्रकारहरुले नचाहिँदो लेखिदिए भनेर । तर केही दिन पहिला मन्त्री ढकालसँग पत्रकारहरुले कोरोना भाइरसका बारेमा प्रश्न राख्दा मेरा घरमा पाहुना आएका छन् त्यसैले प्रश्नको उत्तर दिन सक्दिन भनेर कुलेलाम ठोके । जनताले विश्वास गरेर भोट दिएका व्यक्तिले सरकारी पदमा बसेर त्यसको नालायीपन देखाउन मिल्छ कि मिल्दैन ? प्रधानमन्त्री ज्यु !

साँच्चिकै नेकपाको ओली सरकार जनताप्रति उत्तरदायी छ भने ढकालजस्ता गैरजिम्मेवार मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने आवश्यकता देखिन्छ, जनता भन्दा पद ठुलो किमार्थ हुन सक्दैन है प्रधानमन्त्री ज्यु !

footer