kumari
stcnepal

नीति विहिन राजनीति हरायो नीति

 

यहि वैशाख ३० गते स्थानीय तहको दोस्रो पटक निर्वाचन हुँदैछ । मुलुकमा स्थापना भएका ७ सय ५३ वटै स्थानीय तहमा एकै दिन निर्वाचन सम्पन्न हुने भएपछि मुख्य दलहरुले नीतिविहिनको राजनीति गर्ने प्रयास गरेका छन् । अहिले सत्ता गठबन्धनमा रहेका पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मध्येका कसैको पनि कसैसँग सिद्धान्त र विचारले मेल खाँदैन ।
नेपाली कांग्रेस मुलुककै पुरानो पार्टी भएको भएपनि उसले आफ्नो पार्टीको सिद्धान्त र विचारसँग मेल नखाने दलहरुसँग सत्ता गठबन्धन गरेको छ । निर्वाचनमा तालमेलम गर्नु कुनै नीति र राजनीति सिद्धान्तले काम गरेको छैन । निर्वाचनमा हारेको खण्डमा सत्तामा जान पाइँदैन त्यसैले जसरी जोसँग गठबन्धन गरेरै भएपनि सत्तामा रहिरनुपर्दछ भन्ने सिद्धान्तले गर्दा गठबन्धन गरिएको छ ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका अलग अलग नीति र सिद्धान्त रहेका छन् तर उनीहरुले गठबन्धन गरेका छन् । उनीहरुलाई निर्वाचनमा हारिन्छ कि भन्ने डरले सताएको छ । त्यही कारणले उनीहरुले आ आफ्नो पार्टीहरुको नीति र सिद्धान्तलाई थाती राखेर गठबन्धन गरेका छन् ।
प्रमुख राजनीतिक दलहरुले आ आफ्नो नीति र सिद्धान्तका आधारमा निर्वाचनमा जितेर मुलुक सञ्चालन गर्ने उनीहरुको नीति नै छैन । नीति र सिद्धान्तका कुरा हुन्थ्यो भने कांग्रेस र कम्युनिष्टहरुबीचमा कसरी गठबन्धन हुन सक्थ्यो त्यसैले उनीहरु सत्ता स्वार्थका लागि मात्र मिलेका हुन् । कांग्रेसले खुल्ला लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गरेको छ भने कम्युनिष्टहरु समाजवादी सिद्धान्तको नीति अपनाउँछन् ।
सत्ता स्वार्थले दुई ध्रुवीय सिद्धान्त बोकेका दललाई गठबन्धनमा बाध्ने उनीहरुले प्रयास गरिरहेका छन् । १० वर्षे आन्दोलनका बेला शेरबहादुर देउवा प्रधानमन्त्री रहेका थिए भने पुष्पकमल दाहाल आन्दोलनको नेतृत्वकर्ता रहेका थिए । उनीहरु दुवै एक अर्काको दुश्मन रहेका थिए । माओवादी आन्दोलन विरुद्ध सेना प्रयोग गर्दा देउवा नै प्रधानमन्त्री रहेका थिए ।
जुनबेला माओवादीले २०५८ मंसिर ८ गते दाङ्गको घोराहीको सेनाको व्यारेकमा आक्रमण गरेको थियो । त्यसपछि मुलुकमा लगाइएको संकटकालमा देउवाले २०५९ वैशाख १० मा दाहाल लगायत माओवादीका ५० नेतामाथि टाउकोमा मूल्य तोकेका थिए । माओवादीले कैलालीमा एम्बुस थापेर २०६० भाद्रमा देउवामाथि आक्रमण गरेको थियो ।
तर अहिले तिनै टाउकाको मूल्य तोक्न र तोकिमाग्ने व्यक्तिहरु एउटै भएका छन् । प्रधानमन्त्री देउवाले त अहिलेको गठबन्धनलाई कुनै हालतमा पनि छोड्न नहुने भन्दै गठबन्धनमा रहेका माओवादी केन्द्र र आफैँले पार्टी अध्यक्ष बनाईदिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका जायज नाजायज सबै माग पूरा गरिदिँदै आएका छन् । माधव नेपाललाई पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याएर निर्वाचन ऐन नै संशोधन गरिदिएको हुनाले मात्र माधव नेपाल पार्टी अध्यक्ष बन्न पाएका हुन् ।
तत्कालिन अवस्थामा नेकपा एमालेले माधव नेपाल सहितका १४ सांसदलाई पार्टीबाट कारबाही गरी निष्कासन गरेको र संसदलाई रिक्त रहेको सूचना प्रकाशित गर्न संसद सचिवालयलाई पत्र पठाएको भएपनि सभामुख अग्नि प्रसाद सापकोटाले एमालेले पठाएको पत्र रद्दीको टोकरीमा फालिदिएका थिए । त्यस विषयमा सर्बोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको छ । पटक पटक पेशी चढ्दा पनि मुद्दाको टुँगो लाग्न नसकेको हुनाले गर्दा मात्र माधव नेपाल पार्टी अध्यक्ष रहेका छन् ।
नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित अवस्थामा रहेका बेला कांग्रेसले एक्लै निर्वाचनमा गएको भएपनि उसले आफ्नो पक्षमा राम्रो परिणाम ल्याउन सक्ने अवस्था थियो । तर पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाइ त्यो विश्वास भएन उनलाई कम्युनिष्टहरु फेरी एकै ठाउँमा आउन सक्ने आशंका भएकाले गर्दा नै उनले माधव नेपाललाई आफ्नो पक्षमा पार्न पार्टी अध्यक्ष बनाईदिएका हुन् । त्यही कारण अहिले देउवाले आफ्नो पार्टीले हारेपनि माओवादी केन्द्र र माधव नेपालको पार्टीले जित्नुपर्दछ भनिरहेका छन् । पुष्पकमल दाहाल र माधव नेपालले देउवालाई अर्को सन्जीवन बुटी दिएका छन् ।
२०७९ मंसिरमा सम्पन्न हुने प्रदेशसभा र संघीय संसदको निर्वाचनपछि पनि देउवालाई नै प्रधानमन्त्री बनाई दिने र लामो समयसम्म देउवाको विपक्षमा रहेका कांग्रेसका नेता रामचन्द्र पौडेललाई आउँदो फागुन २९ गतेपछि राष्ट्रपति बनाईदिने आश्वासनले गर्दा देउवा पौडेल एक भएका छन् । नेपाली कांग्रेसले आफ्नो पार्टीको नीति र सिद्धान्तलाई दाहाल र नेपालको पाऊमा उपहार स्वरुप चढाएको छ । आफ्ना पार्टीका कार्यकर्ताहरुको भावना विपरित देउवा पौडेलले आ आफ्नो स्वार्थनुसार पार्टी सञ्चालन गर्दै आएका हुनाले अब सच्च कांग्रेसजनहरु नेपाली कांग्रेसमा बस्नु कुनै हालतमा पनि उचित हुन सक्दैन ।
सैद्धान्तिक गन्तव्य विनाको तालमेल सत्ता प्राप्तिका लागि मात्र केन्द्रीत हुन्छ । अहिलेकै तालमेल पनि त्यही सत्ता प्राप्तिका लागि भएको हो । विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गरिएको तालमेलले गर्दा जनतामा एक प्रकारको आक्रोश उत्पन्न भएको छ भने सम्बन्धित पार्टीहरुका कार्यकर्ताहरु समेत निराश भएका छन् । मुलुकभित्र रहेका राजनीतिक दलहरुका आ आफ्नो नीति र सिद्धान्त हुने भएपनि त्यस्ता सिद्धान्त र नीति विचारलाई बन्धकमा राखेर गरिने गठबन्धनले केही सयम त राहत देला तर त्यो टिकाऊ र भरपर्दो हुन सक्दैन । त्यसैले यस्ता गठबन्धन हानिकारक रहेको हामीले ठानेका छौँ । त्यसैले हामी भन्दछौँ नीति विहिनले राजनीति हरायो नीति खोई भनेर ।

footer