kumari
stcnepal

सत्ताधारी दललाई जनता भन्दा सत्ता प्यारो

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व जगत् नै आतंकित बन्दै गएको छ । यो भाइरसका कारण विश्वको आर्थिक अवस्थामा समेत व्यापक असर परेको छ । अहिलेसम्म यो भाइरसको औषधी र भ्याक्सिन समेत नभएकाले गर्दा विश्वका धेरै देशहरु औषधी र भ्याक्सिन बनाउन लागि परेपनि कुनै पनि देशले अहिलेसम्म सफलता नपाएपनि आशाका केही किरणहरु भने देखिएका छन् । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन र औषधी बनिहाले पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न घटीमा दुई वर्ष लाग्न सक्ने बताएपछि विश्व जगत् नै थप आतंकित बनेको छ । विश्वका धनी मुलुकहरुकै आर्थिक अवस्था डामाडोल बनिरहेको बेला उक्त कोरोना भाइरसबाट नेपाल समेत अछुतो रहन सकेको छैन । अहिलेसम्म उक्त भाइरस विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले भाइरसको रोकथाम र नियन्त्रणका लागि केही उपायहरु अपनाएको भएपनि सरकारले पहिला गरेको गल्तीकै कारण भाइरसले उग्ररुप लिँदै गएको छ ।

कोरोना भाइरसले धनी गरिब, ठुलाबडा र गरिब दिनदुखी कसैलाई छोडेको छैन । फरक यति छ धनीमानीहरु आफैँ उक्त रोगको विरुद्धका लागि सहायक हुने औषधीहरु हेलिकोप्टर र जहाज चार्टर गरेर विदेशबाट ल्याएर उपचार गराउन सक्छ भने गरिब जनताको लागि त्यो आकाशको फल सरह भएको छ । लोककल्याणकारी सरकारको पहिलो दायित्व र कर्तव्य भनेको आफ्ना जनताको सुरक्षा गर्नु नै हो । लोककल्याणकारी सरकारले धनी र गरिब भनेर जनतालाई भेदभाव गर्नु हुँदैन । तर पछिल्लो समयमा त्यस्तो देखिएको छैन ठुलावडाहरुको पीसीआर परिक्षण उनीहरुकै घर घरमा र कार्यालयमा पुगेर गरिएको छ भने गरिब जनताले पैसा तिरेपनि परीक्षण गर्न पाएका छैनन् । परीक्षण गरिएपनि रिपोर्ट आउन ५÷७ दिन लाग्ने भएकाले गरिब जनता मारमा परेका छन् । उपत्यकामै त्यस्तो अवस्था रहेको छ भने दुरदराज र दुर्गम जिल्लामा कस्तो अवस्था होला ? सहजै अनुमान गर्न सकिन्छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न भनेर कोरोना भाइरसको एक जना विरामी हुने वित्तिकै गत चैत्र ११ गतेदेखि मुलुकभर लकडाउन लागु ग¥यो । लकडाउन लागु गरेपछि जनताले सरकारको आदेशलाई स्वीकार गर्दै उनीहरु घरमै बस्न बाध्य भए । तर लकडाउनको बेला सरकारले जति काम गर्न सक्नुपर्दथ्यो त्यति काम गरेन । विदेशबाट आउने व्यक्तिहरुलाई सीमा क्षेत्रमा हप्तौँ रोकेर राख्यो । भारतबाट स्वदेश फर्किने व्यक्तिहरुलाई क्वारेन्टाइन छैन भन्दै नेपाल–भारत सीमामा हप्तौँ सम्म राखेको थियो । सीमामा रोकिएको नेपालीहरु एकै ठाउँमा सयौँको संख्यामा बसेका हुनाले त्यहीबाट सबैलाई कोरोना भाइरसले संक्रमित बनायो । सीमामा रोकिएका व्यक्तिहरु संक्रमित भएपछि मात्र सरकारले आँखा खोल्यो अनि उनीहरुलाई स्वदेश फर्किन आदेश दियो । त्यसबेला धेरै ढिलो भइसकेको थियो । संक्रमितहरु आ आफ्नो जिल्ला हुँदै गाउँ गाउँमा पुगे । त्यहीबाट कोरोना भाइरस गाउँ गाउँमा फैलिएको सत्य वास्तविकतालाई सरकार स्वीकार गर्न अहिले पनि तयार देखिएको छैन ।

लकडाउनको समयमा सरकार मुलुकमा लकडाउन लागु गरिएको छ लकडाउनले गर्दा कोरोना भाइरस घट्छ अर्थात संक्रमितहरु निको हुन्छन् भनेर सरकार समेत लकडाउनमै बसेको हुनाले अहिले कोरोनाले विकराल अवस्था लिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न दिनरात नभनि खटिनु पर्ने सरकारका मन्त्रीहरु कमिसनको लोभमा परेर उक्त भाइरसलाई रोकथाम र नियन्त्रण गर्ने औषधी र उपकरण खरिदमा समेत विवादको घेरामा तानिए । रातारात महंगो मूल्यमा औषधी र उपकरण खरिद गरिएको भएपनि विश्वले बहिष्कार गरेको आरडीटी किट खरिद गरियो । आरडिटी किटले सही विवरण नदेखाएको भन्दै विश्वका धेरै देशले त्यसलाई प्रतिबन्ध लगाईसकेको अवस्थामा समेत करोडौँ मूल्यको आरडीटी किट खरिद गरियो । छिमेकी मुलुक भारतमै पनि उक्त किट खरिदमा र परीक्षणमा प्रतिबन्ध लगाउँदा समेत नेपाल सरकारले त्यही किटबाट परीक्षण गर्ने भन्दै आरडीटी किट खरिद गरेको र विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विज्ञहरुले दिएको सुझावलाई समेत सरकारले वेवास्ता गरेको हुनाले अहिले सरकारकै कारण जनताले अनाहकमा ज्यान गुमाउनु परेको छ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस वेसार, पानी र तातो पानी खाएमा ठीक हुन्छ भन्दै बेसार पानी र तातोपानी खान जनतालाई फरमान जारी गरे । प्रधानमन्त्रीको त्यस्तो फरमान पछि सत्ताका केही मानिसहरु प्रधानमन्त्रीको भनाईलाई नै उत्प्रेरक मान्दै आ आफ्नो सञ्चार माध्यममा लेख समाचारहरु प्रकाशित गर्न व्यस्त रहे । अहिले पनि त्यो क्रम जारी रहेको छ । तर सत्य वास्तविकता ठीक उल्टो छ । वेसार पानी, तातोपानी नेपाली जनतालाई खाउ भनेर कसैले सिकाउनु पर्दैन । सामान्य पेट दुख्दा, ज्वरो आउँदा र अन्य केही रोग लाग्दा सदियौं देखि नेपाली जनताले त्यसको प्रयोग गर्दै आएका छन् । कोरोना भाइरस जस्तो प्राण घातक रोग बेसार पानी र तातो पानी खाँदा ठीक हुने भए किन आज विश्वका विभिन्न मुलुकका बैज्ञानकिहरु भ्याक्सिन र औषधी बनाउन अबौं डलर खर्च गरिरहेका छन् त ?

कोरोना भाइरस नियन्त्रण र रोकथाम हुन नसक्दा सरकार मात्र होइन सत्ताधारी दल समेत जिम्मेवार रहेको छ । कोरोना भाइरसबाट जनता मरिरहेको अवस्थामा सत्ताधारी दलका केही नेताहरु सरकारको विरुद्धमा मोर्चाबन्दी कस्दै ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न लागि परेका थिए । सत्ताधारी दलका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल सहित पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरिरहेका र प्रधानमन्त्री ओली समेत जनतालाई भन्दा पदलाई नै प्राथमिकतामा राखेर आफ्नो नेतृत्वको सरकार बचाउन लागेका हुनाले कोरोना नियन्त्रण र रोकथामलाई प्राथमिकतामा राख्न नसकेका हुनाले कोरोनाले उग्ररुप लिँदै गएको हो । सत्ताधारी दलले सरकारले गरेका निर्णयहरुलाई अपनत्व लिन नसक्ने अभिव्यक्ति वरिष्ठ नेताहरुले नै दिएका र सरकारले गरेका हरेक निर्णय र कार्यहरुको जिम्मेवारी ओली सरकारले नै लिनुपर्ने बताएपछि सत्ताधारी दलका कार्यकर्ताहरु समेत पक्ष विपक्षमा उभिन बाध्य भए । उनीहरुले कोरोना भाइरस विरुद्ध जनतालाई सजग गराउनुपर्ने दायित्व समेत पूरा गर्न सकेनन् । जनता छटपटाईरहेका बेला उनीहरुलाई मलमपट्टी लगाउनुको बदला सरकारले जनताले सरकारको आदेश मानेनन् जस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिन थाले । यी सबै कारणहरुले गर्दा प्रमाणित हुन्छ सत्ताधारी दलले जनतालाई भन्दा सत्तालाई प्राथमिकतामा राखेको छ भनेर हामीले ठानेका छौँ ।

footer