काठमाडौं महानगरपालिका माओबादीका वडाअध्यक्षका उम्मेदवार एमालेमा प्रवेश
वि.सं.२०७९ वैशाख १७ शनिवार १६:५४
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गरेका छन् । उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका डंगोललाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश सँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन् । ‘म २०४३ साल देखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्यम बाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ,’ उनले भनेका छन्’ ‘मेरो जीवनका महत्त्वपूर्ण र ऊर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर बिताएको स्मरण गराउन चाहन्छु ।’
२०६२–०६३ देखि माओवादीमा सक्रिय रहेका डंगोल जिल्ला कमिटीका सदय थिए । गठबन्धनका नाममा कांग्रेसलाई वडाध्यक्ष दिइएपछि आफूले राजीनामा दिएको उनले बताएका छन् । डंगोलले भनेका छन्– मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले )को तर्फ बाट उम्मेदवार बन्नुभएका कमरेड ध्रुवनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारी बाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु ।






































