निर्वाचनका दिन सवारी साधन क-कसले चलाउन पाँउछन, कहाँ बाट अनुमति लिन सकिन्छ ?
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०८:१०
shares

काठमाडौं ।वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो ।
पारित मापदण्ड अनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउनका लागि सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत समक्ष निवेदन दिनुपर्नेछ ।
निवेदन परेमा मुख्य निर्वाचत अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी त्यसै निवेदनमा सिफारिस गर्नुपर्नेछ । उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सिफारिस दिने अधिकारीको सिफारिस लिइ त्यसै बमोजिम साधानको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारी समक्ष पत्र पेश गर्नुपर्नेछ । जसमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नाम समेत उल्लेख गर्नुपर्नेछ ।
अनुमतिका लागि २८ गतेभित्र निवेदन दिइसक्नुपर्ने
सवारीसाधनको अनुमतिका लागि वैशाख २८ गते सम्ममा निवेदन दिइसक्नुपर्नेछ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी बाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्नेछ ।
सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि निवेदन परेमा वा पत्र प्राप्त भएमा सम्बन्धित निकाय वा अधिकारीले तोकिएको संख्यामा नबढ्ने गरी अनुमतिपत्र दिनुपर्नेछ । अनुमतिपत्र दिँदा आयोग र निर्वाचन कार्यालमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिनेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोग गर्न अनुमति नदिइने मापदण्डमा उल्लेख गरिएको छ ।
मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिइ सवारीसाधन प्रयोग गर्न सकिनेछ । कामको प्रकृति हेरी आयोग वा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले एक भन्दा बढी जिल्लाका लागि सवारी साधन प्रयोग गर्ने गरी अनुमतिपत्र जारी गर्न सक्नेछ ।
त्यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यम बाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म र विमानस्थल बाट यात्रुको बासस्थान सम्मको आवागमनको सहजीकरण काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउनु पर्नेछ । आफैँ हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिका लागि बासस्थान देखि मतदान केन्द्रसम्म र मतदान केन्द्र देखि बासस्थान सम्म आवतजावत गर्न सकिनेछ । त्यस्तो सवारीसाधनमा अशक्त व्यक्ति र सहयोगका लागि उसको साथमा एकाघरको एक जना व्यक्ति मात्र रहन सक्नेछ ।
मापदण्ड बमोजिम सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछ । मापदण्ड बमोजिम जारी गरिएको अनुमतिपत्र बमोजिमको सवारी साधन सम्बन्धित व्यक्ति वा पदाधिकारीले मात्र प्रयोग गर्न पाइनेछ ।
अत्यावश्यक सेवा र कूटनीतिक नियोगका सवारीसाधनले अनुमति लिन नपर्ने
एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं बाट जारी गरिने सवारी साधानको अनुमतिपत्र समेत एकीकृत रुपमा आयोग परिसर बाटै उपलब्ध गराउने गरी सवारी आवागमन डेस्क स्थापना गरिनेछ । एकीकृत सेवा प्रदान गर्ने प्रयोजनका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट एक जना अधिकृतस्तरका कर्मचारीलाई आयोगमा काजमा ल्याइने छ ।
सहसचिवको संयोजकत्वमा सवारीसाधन अनुगमन समिति
मतदानको दिनका लागि दिइने सवारी आवागमनको अनुमतिपत्र सम्बन्धी कार्यमा सहजीकरण गर्न, त्यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन तथा त्यसको अनुगमन गर्नका लागि आयोगले सवारी साधन आवागमन व्यवस्थापन तथा अनुगमन समिति गठन भएको छ ।
जसको संयोजकको जिम्मेवारी आयोगका सहसचिव एवम प्रशासन महाशाखा प्रमुखलाई दिइएको छ भने सदस्यमा गृह मन्त्रालयका अधिकृतस्तरका कर्मचारी, सूचना तथा प्रशारण विभागका अधिकृतस्तरका कर्मचारी, आयोगकै योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख तथा उपसचिव रहनेछन् भने सदस्य सचिव संयोजकले तोकेको आयोगका शाखा अधिकृत रहनेछन् ।
मतदानको दिन कसैले यो मापदण्ड विपरीत सवारी साधान प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिइ मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिनेछ ।




































