मैले सर्पको बच्चालाई दूध खुवाएको रहेछु : माधव नेपाल बारे ओलीको टिप्पणी
वि.सं.२०७९ वैशाख २३ शुक्रवार २०:५२
shares

रौतहट ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले रौतहट पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचना गरका छन् । शुक्रबार रौतहटमा आयोजित एमालेको चुनावी सभामा ओलीले ५० वर्ष अघि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा आफूले माधव नेपाललाई भेटेको र सम्झाई बुझाई राजनीतिमा पूर्णकालीन बनाएको दाबी गरे ।
पछिल्लो समय आफ्नै पार्टी विरुद्ध षड्यन्त्र गरेको थाहा पाएपछि उनलाई पार्टी बाट हटाएको भन्दै केपी ओलीले भने, ‘मैले सर्पको बच्चालाई दूध खुवाएको रहेछु ।’ चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सी भनी टिप्पणी गरेका थिए ।
उनको भनाइ प्रति आक्रोश व्यक्त गर्दै ओलीले माधव नेपाल आफैं कुहिएको फर्सी भएको बताए । ‘तीन–तीन पटक पार्टीको प्रमुख बनाइयो, प्रधानमन्त्री बनाइयो’, अध्यक्ष ओलीले भने, ‘पार्टीले उनलाई सासंद बनायो, प्रधानमन्त्री बनायो । तर कुलमा एउटा कुलङ्घार जन्मिएको रहेछ ।’
माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाए पछि पार्टीले पहिले देखि नै सतर्कता अपनाएको ओलीले बताए । माधव नेपाल विकासको सोच र कुनै योग्यता नभएको मान्छे भएको उनले आरोप लगाए । रौतहटको विकास नहुनुको मुख्य दोषी माधव नेपालनै भएको ओलीले टिप्पणी गरे ।






































