कांग्रेसबाट कपिलवस्तुको महाराजगंजकी उपमेयर उम्मेदवार सुभावती कुर्मीको निधन
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:५९
shares

कपिलवस्तु ।महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको निधन भएको छ । दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे निधन भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिए ।
राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । २०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।
उम्मेदवार कुर्मीको निधन बारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए । आयोगको निर्देशन अनुसार बाँकी निर्वाचन प्रकृया अघि बढाइने उनले बताए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा व्यवस्था भए अनुसार उम्मेदवारको निधन भए निर्वाचन स्थगित हुन्छ । मतदानको मिति सात दिनभन्दा कम भएको अवस्थामा नयाँ निर्वाचन कार्यक्रम बनाएर मतदान गर्ने व्यवस्था गरिएको छ । यदि सात दिन भन्दा अघि नै निधन भएमा भने मतदानको मिति सार्न पर्ने छैन ।


































