दुईदिन हिडेर मतदान केन्द्रमा पुगे कर्मचारी र सुरक्षाकर्मी
वि.सं.२०७९ वैशाख २९ बिहीवार ०७:३९
shares

लमजुङ ।मतदान गर्ने समय नजिकिए सँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।
सोमबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी मङ्गलवार मतदान केन्द्रमा पुगेका हुन् । उनीहरूले मतदान केन्द्रहरूमा सूचना टाँस गर्ने, चार किल्ला तोक्ने लगायतका गतिविधिहरू गर्नेछन् । मनाङका चार वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् । स्थानीय तहको निर्वाचनका लागि मनाङमा दुई सय बढी कर्मचारी र ७ सय बढी सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनका लागि मनाङमा २८ वटा मतदान केन्द्र कायम भएको छ ।



































