पाँच लाख भन्दा बढीले निर्वाचनका लागि छोडे उपत्यका
वि.सं.२०७९ वैशाख २९ बिहीवार ०९:०२
shares

काठमाडौं ।भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् । जनता सँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचन मार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।
स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यका बाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाख देखि २८ वैशाख साँझ ५ बजे सम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधन बाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए ।






































