सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध :निर्वाचन आयोग
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १४:०७
shares

काठमाडौं ।शुक्रबार बिहानै देखि देशभर स्थानीय तह निर्वाचन अन्र्तगत मतदान जारी छ । अहिले सम्म अधिकांश स्थानमा उत्साहपूर्ण मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मध्यान्ह सम्म ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको छ ।
दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ । ‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सूचारु हुने अपेक्षा लिइएको छ’ उनले भने ।
स्थानीय तह सदस्य निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजे देखि छिटफुट घटना वाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको उनको भनाइ छ । अपरान्ह १२ बजे सम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको उनको भनाइ छ । आज पाँच बजे सम्म मतदान प्रक्रिया चल्नेछ ।



































