नेपाल आज डटकमलाई प्रेसकाउन्सिले हटायो सूचीकरण बाट
वि.सं.२०७९ जेठ २१ शनिवार १०:१६
shares

काठमाडौँ – नेपालआज डटकमलाई सूचीकरण बाट हटाउने प्रेस काउन्सिलले निर्णय गरेको छ। नेपालआज डटकमबाट विभिन्न विषयमा पटकपटक सन्दिग्ध समाचार तथा समाचार सामग्री सम्प्रेषण भएको विषयमा प्रेस काउन्सिल नेपालबाट स्वअनुगमन, साथै विभिन्न व्यक्तिबाट उजुरी परेको थियो।
‘दुई वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ‘ल्यान्डलाइन’ बाट पटक–पटक फोन गरी हैरानी दिने गरेको, गलत अपुष्ट स्रोतको हवाला दिँदै सिलसिलेवर रूपमा प्रायोजित एवं एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने किसिम बाट पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र सीमा भन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको’, प्रेस काउन्सिल नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको, आफ्ना माग पूरा नभए बिनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको भनी मौखिक एवं लिखित गुनासाहरू आएको थियो। यस्ता उजुरी तथा गुनासाका आधारमा अनुगमन गरी आचारसंहिता उल्लंघनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइए पनि खण्डन प्रकाशन नगर्ने, कतिपय प्रकाशित खण्डन तोडमरोड गरेर पुनः समाचार नै बनाई प्रकाशन गर्ने र घरीघरी ध्यानाकर्षण सचेत गराउँदा पनि कुनै सुधार नआई आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरी काउन्सिललाई अवज्ञा गर्दै आएको सन्दर्भमा ०७८।११।१३ को निर्णयानुसार कालोसूचीमा राखी अनलाइन माध्यमलाई उपलब्ध गराइने प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रशारण विभागलाई सिफारिस गरी सोको जानकारी नेपाल पत्रकार महासंघलाई गराइएको थियो।’
तत्पश्चात् पनि यस अनलाइन माध्यमको कियाकलापमा सुधार नआएको र मुलुकको विद्यमान कानुन उल्लंघन गरेको भनी पटकपटक नेपाल पत्रकार महासंघले विज्ञप्ति मार्फत नै सचेत गराएको तथापि सञ्चार माध्यमको प्रवृत्तिमा सुधार नभई बोल्दै नबोलेको विषयलाई अतिरञ्जित गरी समाचार बनाएको भनी एक वरिष्ठ पत्रकारले काउन्सिलमा मौखिक गुनासो गरी कारबाहीको माग गरेका थिए।
‘पछिल्लो समय सञ्चार माध्यम र पत्रकार विरुद्ध नियोजित तथा निरन्तर गलत समाचार लेखी पत्रकार आचारंहिता विपरीत सञ्चारमाध्यम र पत्रकार बारे निरन्तर कपोलकल्पित, भ्रामक, सामग्री प्रकाशन गर्ने तथा पुराना सामग्री लगातार फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा सेयर गरेर चरित्रहत्या गर्ने गरी बिनाआधार, बिना प्रमाण समग्र पत्रकारितालाई नै बदनाम गर्ने गरी समाचार प्रकाशन गरेको गुनासा थपिएका छन्। यसैबीच सोही अनलाइन र यसका सञ्चालक माधवप्रसाद गुरागाईंले एक महिला पत्रकार विरुद्ध हिंसा, ज्यादती, मानसिक यातना दिँदै आएको, दैनिक ५० औं कल गरेर धम्की दिने गरेको भनी उजुरीहरू दर्ता भएको सन्दर्भमा मिति २०७९ जेठ २० गते बसेको आचारसंहिता अनुगमन उपसमिति बैठक बाट “काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञा गरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानी गर्ने समाचार निरन्तर सम्प्रेषण गर्दै आएको समेत देखिएको हुँदा उक्त अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा ७१)(ग) बमोजिम सूचीकरण बाट हटाउने र नेपाल पत्रकार महासं घलगायत सम्बद्ध संघसंस्था सँग थप छलफल गरी थप कारबाही गर्ने’ निर्णय भएकाले आजै देखि नेपालआज डटकमलाई सूचीकरण बाट हटाई थप कारबाही अगाडि बढाइएको छ’, विज्ञप्तिमा उल्लेख छ।




































