चीनको उद्घोष : नेपालको विपद्पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्दछौ
वि.सं.२०८३ मंसिर ८ मंगलवार १५:५५
shares

काठमाडौं । चीनले नेपालमा बाढीपहिरोलगायत विपद्पछिको पुनर्निर्माणका लागि सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।हालैको बाढीपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने नेपालको योजनामा चीनले सहयोग गर्ने संकेत गरेको, तर रकम नतोकेको तथा पूर्वसूचना र जलवायु तथ्याङ्क आदानप्रदान गर्न सहमत भएको विषयमा रोयटर्सले चीनको धारणा मागेको थियो ।
जवाफमा प्रवक्ता गुओले विपद्ले ठूलो क्षति पुर्याएको र पुनर्निर्माणमा गम्भीर चुनौती रहेको बताउनुभयो । चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र विपद्बाट प्रभावित नेपाली जनताको दुःखमा साथ रहेको उहाँको भनाइ छ ।यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा जनजीवन र रोजगारीलाई छिटो सामान्य अवस्थामा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने उहाँले बताउनुभयो ।
प्राकृतिक विपद्बाट सिर्जित जोखिम र चुनौती सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत चीनले सहयोग गर्ने प्रवक्ता गुओले उल्लेख गर्नुभयो ।चीन र नेपाल हिमाल तथा नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गर्दै उहाँले नेपालको उत्तरी क्षेत्रमा गएको ठूलो गेग्रानसहितको बाढीपछि चीनले तत्काल आपत्कालीन सहायता घोषणा गर्नुका साथै उद्धारमा सहकार्य गरेको स्मरण गराउनुभयो ।उहाँका अनुसार चिनियाँ सरकारले नेपाललाई नगद सहायता र पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो । त्यस्तै, सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ नेपाल पठाएको थियो ।
चीनले मौसम, जल तथा भूगर्भसम्बन्धी तथ्याङ्कसमेत निरन्तर आदानप्रदान गरेको प्रवक्ता गुओले जानकारी दिनुभयो । चीनका विभिन्न क्षेत्रका नागरिकले पनि नेपाली जनताप्रति सद्भाव र समर्थन व्यक्त गर्दै सहयोगको हात बढाएको उहाँले बताउनुभयो ।






































