kumari
stcnepal

भाजपाका नेता नुपुर शर्माले पैगम्बर मोहम्मद प्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतको विरोध

काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा) का नेता नुपुर शर्माले पैगम्बर मोहम्मद प्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतले विरोध जनाएका छन् । कतार र कुवेतले आ–आफ्नो विदेश मन्त्रालयमा भारतीय राजदूतहरुलाई बोलाएर विरोध प्रकट गरेका हुन् । कतारका विदेशमन्त्री सुल्तान विन साद अल मुराइखीले भारतीय राजदूतलाई औपचारिक पत्र दिएका थिए । विदेशमन्त्री मुराइखीले भारत सरकारले सार्वजनिक माफी र भाजपा नेताको अभिव्यक्तिको निन्दाको अपेक्षा पनि गरेको जानकारी गराएका थिए ।

त्यसपछि कतार स्थित भारतीय दूतावासका प्रवक्ताले अपमानजनक टिप्पणी गर्ने शर्मालाई पहिले नै कडा कारबाही गरिसकेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । भाजपाको राष्ट्रिय प्रवक्ता शर्माले विवादित अभिव्यक्ति दिएपछि भाजपाले उनलाई पार्टी सदस्य बाट समेत निलम्बन गरिसकेको छ । अर्का नेता नवीन कुमार जिन्दललाई पार्टी बाट निस्कासित गर्ने निर्णय भाजपाले गरेको छ ।

यसैबीच कुवेतको विदेश मन्त्रालयले पनि भारतीय राजदूतलाई बोलाएर नुपुर शर्माको अभिव्यक्ति प्रति औपचारिक रुपमा आफ्नो विरोध प्रकट गरेको थियो । कुवेतको विदेश मन्त्रालयका एशिया मामिलाका सहायक सचिवले पैम्बर मोहम्मद विरुद्ध भारतमा सत्तारुढ पार्टीका एक अधिकारीले दिएको बयानको कडा शव्दमा निन्दा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यही प्रकरणमा कतार र कुवेतको विरोधपछि अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशन (ओईसी) ले पनि भाजपाका नेताहरुको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा शर्माले पैगम्बर मोहम्मद र कुरानको नाम लिंदै अपमानजनक अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । त्यसपछि भाजपाले विज्ञप्ति जारी गर्दै सबै धर्मको सम्मान गर्ने र कुनै पनि धार्मिक महापुरुषको अपमानको कडा शब्दमा निन्दा गर्ने स्पष्टीकरण दिएको थियो ।

 

 

footer