ललितपुरको फोहोर बागमतीको करिडोरमा
वि.सं.२०७९ जेठ २६ बिहीवार ०८:५५
shares

काठमाडौं ।बञ्चरे डाँडाका स्थानीय वासिन्दाले फोहोर फल्न अवरोध गरेपछि ललितपुर महानगरपालिकाले बागमती करिडोरमा फोहोर बिसर्जन गरेको छ । ललितपुर महानगरपालिकाले सडक बाट फोहोर उठाएपनि बागमती करिडोरमा थुपारिरहेकोे छ । कुपण्डोल पुल नजिक फोहोर थुपारेकाले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको थुप्रो बाट बगेको लिचेड सडक सम्म बगेको छ ।
बागमती करिडोरको कुपण्डोल क्षेत्रमा मात्र नभई कुपण्डोल पुल अगाडि पनि ठाउँठाउँमा फोहोर थुपारिएको छ । त्यस क्षेत्र बाट हिँड्ने सर्वसाधारण गन्धका कारण नाकमुख छोप्न बाध्य छन् ।बञ्चरेडाडाका स्थानीयले फोहोर फाल्न नदिएपछि केही दिनदेखि ललितपुरको फोहोर बागमती करिडोरमा जम्मा गरिएको हो । ललितपुर महानगरपालिकाले भित्री सडकमा थुप्रिएको फोहोर उठाए पनि बागमती करिडोरमा भने ठाउँठाउँमा फोहोर थुपारिएको छ । केही फोहोर भने बालकुमारी स्थित फोहोर संकलन केन्द्रमा जम्मा गरिरहेको छ ।
‘विगत केही दिन देखि फोहोर उठ्न नसक्दा समस्या भएको छ तैपनि हामीले फोहोर संकलन केन्द्रमा जम्मा गरेर गन्ध नआउने केमिकल छर्किरहेका छौं’ ललितपुरका मेयर चिरीबाबु महर्जनले भने । ललितपुर महानगरले फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिएकाले त्यति समस्या नभएको महर्जनको भनाइ छ । उनले कुपण्डोल पुल आसपास र बागमती करिडोरमा फोहोर थुपारिएको विषयमा भने अनविज्ञता प्रकट गरे ।
‘हामीले सबै फोहोर उठाएर संकलन केन्द्र (बालकुमारी) मा जम्मा गरेका छौं कहाँ छ भन्नुस् त म तुरुन्त उठाउन लगाउँछु’ उनले भने । महानगरपालिकाका अनुसार ललितपुर महानगरपालिका भर दैनिक १८० देखि २ सय मेट्रिक टन सम्म फोहोर संकलन हुने गरेको छ ।







































