एमाले नेता भुसाललाई कारबाही गर्ने एजेण्डामा परेन
वि.सं.२०७९ जेठ २९ आइतवार १९:५७
shares

काठमाडौं ।नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ । च्यासल स्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ ।सचिव गोकर्ण विष्टका अनुसार स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका माथि सचिवालय बैठकमा छलफल हुनेछ । सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकको एजेण्डा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय समितिले तय गरेको हो ।
३० वैशाखमा स्थानीय तहको चुनाव सकिएपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो । यो बैठकमा चुनावको नतिजा बारे समीक्षात्मक छलफल हुने सचिव विष्टले बताए । एमालेको निर्वाचन विभाग प्रमुख उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चुनावी नतिजा समेटेर कार्यपत्र तयार पारेको छ । उक्त प्रतिवेदन माथि आधारित भएर सचिवालय बैठकमा छलफल गर्ने एमालेको तयारी छ । चुनावको समीक्षा सँगै एमाले सचिवालय बैठकमा पार्टी बाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने बारे पनि छलफल हुनेछ । २ र ३ असारमा जनप्रतिनिधिहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारी एमालेले गरेको छ । तर निर्णय भने सचिवालय बैठकले गर्नेछ ।
बैठकको अर्को एजेण्डा पार्टीका विभागलाई पूर्णता दिने विषय पनि छ । गएको मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन बाट एमालेको नयाँ नेतृत्व आएपछि विभाग प्रमुख र उपप्रमुख तोकिए पनि अधिकांश विभागले पूर्णता पाउन सकेको छैन । सचिवालय बैठकको अन्त्यमा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । पार्टीको भावी राजनीतिक कार्यक्रम पनि यही बुँदामा समेटिने नेताहरुले बताएका छन् । तर स्थानीय चुनाव लगत्तै एमाले वृत्तमा छलफलको विषय बनेको स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही बारे भने केन्द्रीय कार्यालयले छलफलको एजेण्डा बनाएन ।


































