बाहिरी चक्रपथ बन्नेमा शंका छ : मन्त्री झाँक्री
वि.सं.२०७९ असार १ बुधवार १६:२८
shares

काठमाडौं ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पहिले भनेकै ठाउँमा बाहिरी चक्रपथ बन्नेमा शंका रहेको बताएकी छन् । शहरी विकास मन्त्रालयको बजेट माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बुधबार उनले बाहिरी चक्रपथको कुनै पनि प्रक्रिया अघि नबढेको जानकारी गराइन् ।
‘आउटर रिङरोड (बाहिरी चक्रपथ) को प्रक्रिया केही पनि अघि बढेको छैन, जुन ठाउँमा आज आउटर रिङरोड बन्ने भनिएको थियो, त्यही ठाउँ बाट बन्छ कि बन्दैन भन्ने कुराको सन्देह छ’ उनले भनिन् । बाहिरी चक्रपथ बन्ने भनिएको चोभारको ड्राइपोर्ट (सुख्खा बन्दरगाह)देखि सतुंगल सम्मको ६ किलोमिटर क्षेत्रमा धेरै सरकारी भवन बनेको र त्यसको मुआब्जा दिन ३ अर्ब रुपैयाँ भन्दा धेरै रकम आवश्यक पर्ने मन्त्री झाँक्रीको भनाइ छ ।
‘चोभारको ड्राइपोर्ट देखि सतुंगल सम्म जहाँ आउटर रिङरोड भनेर सर्वे गरिएको थियो । त्यो ६ किलोमिटर क्षेत्रमा कयौं सरकारी भवन बनेका छन् । यदि राज्यले मुआब्जा दिने हो भने करिब करिब ३ अर्ब लाग्छ’ उनले भनिन् । त्यस्तै बाहिरी चक्रपथ बन्ने क्षेत्रमा जग्गाको धेरै कित्ताकाट भएको भन्दै उनले यो योजनाको पुनः अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा चारवटा स्याटेलाइट शहर बनाउने योजनाको पनि काम भन्दा कुरा धेरै भएको बताइन् । चार स्याटेलाइट सिटी मध्ये उत्तरपूर्वी शहरको भौतिक पूर्वाधारको योजना मन्त्रिपरिषदले पास गर्ने तयारी भएको र अरु तीन वटाको सम्भाव्यता अध्ययन नै जारी रहेको उनको भनाइ छ । ती शहर बनाउने भनेको ठाउँमा जग्गा रोक्काको काम पनि अघि नबढेको मन्त्री झाँक्रीले जानकारी दिइन् ।






































