समाजवादीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताए
वि.सं.२०७९ असार १० शुक्रवार १२:१६
shares

काठमाडौं ।एकीकृत समाजवादी बाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर छ । अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो । बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादी बाट मन्त्री बनेकाहरु रुष्ट छन् ।
उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘…बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरु सँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै/भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।’
२२ जेठमा एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो । मन्त्रीका लागि नयाँ नाममा भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीको नाम सिफारिस गरेको थियो ।
नयाँ मन्त्रीको रुपमा गरिएको सिफारिस पनि असन्तुलित र असमावेशी भएको उनीहरुको भनाइ छ । उनीहरुले मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग पनि गरेका छन् ।


































