संसदमा चाँडै संघीय निजामती ऐन दर्ता हुन्छ : संघीय मामिला मन्त्री
वि.सं.२०७९ असार १३ सोमवार १४:४३
shares

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐन छिटै संसदमा दर्ता गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेट माथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती ऐन दर्ता गर्ने बताए ।
उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामती ऐन संसद बाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताए । मन्त्री श्रेष्ठले गठबन्धन दलहरु सँग समेत छलफल गरेर छिटै संसदमा ऐन दर्ता गराउने तयारी रहेको बताए ।
मन्त्री श्रेष्ठले भने, ‘अहिले संसद सुचारु भइरहेको पस्थितिमा छिटो भन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौं । त्यसपछि संघीय निजामती ऐनलाई ल्याउनेछौं । त्यस्तै संघीयतालाई बलियो बनाउँन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भएर केही दिनमा संसदको दुई सदनमध्ये एउटा सदनमा प्रस्तुत गर्नेछौं ।’
मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदन मध्ये कुनै एकमा प्रश्तुत गर्ने तयारी भइरहेको बताए ।




































