जाँदाजाँदै मन्त्री खतिवडाका विवादास्पद निर्णय
वि.सं.२०७९ असार १७ शुक्रवार १६:२२
shares

काठमाडौ । नेकपा एमाले विभाजित भई गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीबाट पहिलो पटक मन्त्री बनेका विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेर उनी मन्त्रीबाट विदा भएका छन् । खतिवडाको कार्याकाल पनि खासै उपलब्धीमुलक हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै कर्मचारीहरुले बताउन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूत्रका अनुसार नेकपा एकीकृतले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपश्चात् मन्त्री खतिवडाले मन्त्री पदमा रहन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेर बहादुर देउवालाई हारगुहार गरेका भएपनि पार्टीले गरेका निर्णयमा आफुहरुले केही गर्न नसक्ने दुवैबाट जवाफ पाएपछि मन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना समर्थकहरुलाई मालदार विभाग र कार्यालयमा सरुवा गरेका छन् ।
मन्त्री खतिवडाले पद मुक्त हुने दिनमै चार महत्वपूर्ण निकायहरुमा प्रमुखको हेरफेर गरेका छन् । असार ११ गते सिंहदरबार बैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादवलाई नियुक्त गरे ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा कार्यरत डा. यादवलाई बैद्यखानामा सरुवा गरिएको थियो भने सो अघि बैद्यखानामा कार्यरत डा. सवीर साहलाई आयुर्वेदमा पठाएको छ ।
पद मुक्त हुने निश्चित भएपछि मन्त्री खतिवडाले राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेड रहेका प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजमा सरुवा गरेर ट्रमा सेन्टरमा डा. प्रमोद यादवलाई पुन ल्याएका छन् । यादव पहिला पनि ट्रमा सेन्टरमा मेसु नै थिए । गेटा मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएपछि जोशीलाई त्यहाँ सरुवा गरिएको मन्त्रालय सूत्रले बताएको छ ।
२०७८ पुसमा राष्ट्रियसभा निर्वाचनको आचारसंहति लागु भएको बेलामा पनि खतिवडाले १२ औं तहका एक दर्जन कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरेका थिए । त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवाले सबै हेरफेर रोक्न निर्देशन दिएका थिए । मन्त्री खतिवडाले सर्बोच अदालतको आदेशलाई समेत धोती लगाउँदै अनेक विवादास्पद निर्णयहरु गरेका थिए ।
कोभिडको बेलामा समेत मन्त्री खतिवडाले विवादास्पद सरुवा गरेका हुनाले मन्त्री खतिवडाको कार्यकाल पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपलब्धीमूलक हुन नसकेपनि स्वयम् मन्त्रीको लागि भने उपलब्धीमूलक रहेको मन्त्रालय सूत्रले दाबी गरेको छ । यसरी पहिलो पटक मन्त्री हुँदा नै मन्त्री खतिवडा बद्नाम हुन पुगेका छन् ।





































