जसपाको विवाद उत्कर्षमा, यादव र भट्टराई आ आफ्नै रणनीतिमा
वि.सं.२०७९ असार १७ शुक्रवार १६:१९
shares

काठमाडौ । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी भित्रको विवाद अहिले सडकमै छताछुल्ल भएको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको द्वन्द्वले पार्टी विभाजन हुन सक्ने सम्भावना समेत बढ्दै गएको पार्टीका नेताहरुले बताउन थालेका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुमात्र राखेर बैठक गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो । पार्टी भित्रको विवाद बढ्दै जाँदा संसदीय दल र केन्द्रीय समितिमा बहमुत पु¥याएर एकले अर्को पक्षलाई कारबाही गर्ने तयारीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराई लागि परेका छन् ।
यादव पक्षको बैठकका अहिले मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँमन्त्री पठाउने र भट्टराई लगायत उनी पक्षीय कृषि मन्त्री समेत रहेका महेन्द्र यादव र कार्यकारिणाी सदस्य रहेका गंगा नारायण श्रेष्ठलाई समेत कारबाही गर्ने सम्मको तयारी यादव पक्षले गरेको छ ।
डा. बाबुराम भट्टराईलाई समेत स्पष्टीकरण सोध्ने यादव पक्षको रणनीति भएपछि अध्यक्ष यादवले भट्टराई पक्षमा रहेका केही व्यक्तिलाई मन्त्री बनाईदिने भन्दै आफ्नो पक्षमा ल्याएपछि भट्टराई पक्ष कमजोर अवस्थामा पुगेको छ । भट्टराई पक्षका नेताहरुले अध्यक्ष यादवले पार्र्टीभित्र मनोमानी गरेको र मन्त्री परिवर्तन गर्ने विषयमा समेत आफूहरुसँग कुनै सल्लाह र परामर्श नगरेको आरोप लगाउँदै आएका छन् ।
भट्टराई पक्षका नेताहरुले गुटको बैठक आफुहरुलाई मान्य नरहेको बताउँदै आएका भएपनि पछिल्लो समयमा यादव पक्ष बहुमतमा रहेकाले भट्टराई, यादव र श्रेष्ठमाथि कारबाही हुन सक्ने सम्भावना बढेपछि डा. भट्टराई भने भरिसक्य आफ्नो पक्षमा बहुमत पु¥याउने बहुमत पु¥याउन नसकेको अवस्थामा राजनीतिक दल विभाजनसम्बन्धी ऐनमा व्यवस्था भएको ४० प्रतिशत पु¥याएर पार्टी विभाजन गराउन सक्ने अवस्थामा पुगेका छन् ।
भट्टराई पक्षले ४० प्रतिशत पु¥याउन नसकेको खण्डमा भट्टराईले प्रधानमन्त्री देउवालाई राजीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफूलाई सहयोग गरिदिन आग्रह समेत गरिसकेका हुनाले जसपा विभाजन हुन सक्ने सम्भावना बढेर गएको छ । २०७६ वैशाख २६ गते संघीय समाजवादी फोरम र बाबुराम भट्टराई अध्यक्ष रहेका नयाँ शक्ति पार्टी बीचमा एकीकरण भएको थियो ।
पछिल्लो समयमा दुवै पक्ष आफ्नो पक्षमा बहुमत पु¥याउने खेलमा लागेका छन् । जसपामा अहिले ५ सय केन्द्रीय सदस्य रहेका छन् भने भट्टराई पक्षले २ सय २५ सदस्यको हस्ताक्षर संकलन गरिसकेको बताउँदै आएको छ । जसपाका केही केन्द्रीय सदस्यहरुले पार्टी छोडिसकेका र २५ देखि ३० जना तटस्थ रहेकाले आफ्नो पक्षमा बहुमत रहेको दाबी भट्टराई पक्षले गरेको छ । जेहोस् सत्ताकै खेलका लागि जसपा विभाजित भएमा कुनै अचम्म मान्नुपर्ने अवस्था छैन ।



































