माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी टुंगो लगाउने सम्भावना कम
वि.सं.२०७९ असार १९ आइतवार १०:३८
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हल बाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटी मार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन ।
राष्ट्रिय सभागृहमा आइतबार बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् । अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिव बारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले बताए ।
शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यस बारेमा कुनै सहमति नभएको एक नेताले बताए । केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी चुनावको कार्ययोजना पनि बनाउने बताइएको छ ।





































