कुहिने र नकुहिने फोहर संकलन गर्ने कार्यतालिका सार्वजनिक गर्यो काठमाडौं महानगरपालिकाले
वि.सं.२०७९ असार ३२ शनिवार ०८:००
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले आगामी साउन १ गते देखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिए बमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिना अघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्ने बारे नगरवासीलाई जानकारी गराएको थियो ।
पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडी सम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति रु ५०० जरिवाना समेत गर्ने जनाइएको छ ।महानगर वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोही अनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ । पछिल्लो समय महानगर लगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थान सम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि कामपाले यस किसिमको अभ्यास सुरु गर्न लागेको हो ।





































