सरकारले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने गरी प्रक्रिया अघि बढायो
वि.सं.२०७९ साउन ८ आइतवार १३:४०
shares

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने गरी प्रक्रिया अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदार कम्पनी टाइगर डेकाटुरलाई पत्र लेख्दै प्लेटमा नेपाली भाषा लेख्न सम्भव रहे/नरहेकोबारे राय मागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदार कम्पनी टाइगर डेकाटुरलाई पत्र लेख्दै प्लेटमा नेपाली भाषा लेख्न सम्भव रहे/नरहेको बारे राय मागेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले २० असारमा मन्त्री नियुक्त भए लगत्तै इम्बोस्ड नम्बर प्लेट जडान बारे अध्ययन गर्न एक कार्यदल बनाएका थिए । कार्यदलको प्रतिवेदन अनुसार सरकारले नम्बर प्लेटको बनोट र भाषा परिवर्तनका लागि गृहकार्य थालेको हो ।
मन्त्रालयले प्रदेशको नाम मात्रै नपाली भाषामा लेख्दा र पुरै नम्बर प्लेट नै नेपाली भाषामा लेख्दा थप आर्थिक भार पर्ने/नपर्ने लेखेर पठाउन ठेकेदार कम्पनी टाइगरलाई भनेको छ ।लिखित पत्राचार नै गरेर मन्त्रालयले राय मागेको ठेकेदार कम्पनीका एक प्रतिनिधिले बताए । ‘हामीले यसबारे विज्ञहरु सँग परामर्श गरेर जवाफ पठाउँछौं,’ उनले भने, ‘सरकारले नेपाली भाषामा गर्न चाहेमा के–के गर्नुपर्छ, थप कति खर्च लाग्छ भनेर सुझाव पठाउँछौं ।’ मन्त्रालयले दुई पांग्रे बाहेकका सवारीको अगाडिको भागमा जडान हुने नम्बर प्लेटको स्वरुप फेर्ने बारे पनि सुझाव मागेको छ । दुई वटा मात्रै ‘नट’ले कस्दा झर्ने समस्या देखिएको भन्दै अगाडिको प्लेटलाई पनि ४ वटा ‘नट’ लगाएर कस्न सकिने/नसकिने बारे राय माग गरेको छ ।
मन्त्रालयले प्लेटको गुणस्तर बारे पनि ठेकेदार कम्पनीलाई सचेत गराएको छ । सुरक्षित भनेर जोडिएको इम्बोस्ड नम्बर प्लेट सवारी साधन बाट खसेर हराउने समस्या ब्याप्त छ । इम्बोस्ड नम्बर प्लेट जोड्ने सवारी धनीहरु प्लेटकै बनोट र जडान सम्बद्ध अनेकन समस्या बाट पीडित छन् । यातायात व्यवस्था विभागले एकपटक जोडेको इम्बोस्ड प्लेट निकाल्न खोजे च्यात्नैपर्ने भएकाले सवारी साधन चोरीको समस्या हट्ने दावी गरेको थियो । तर, प्लेट र त्यसलाई अड्याउने होल्डर नै आफैं च्यातिने समस्या देखिएपछि इम्बोस्ड प्लेटको सुरक्षात्मक पक्ष कमजोर रहेको पुष्टि भएको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् ।
इम्बोस्ड प्लेट हराएमा सवारी धनीले फेरि नयाँ शुल्क तिरेर अर्को प्लेट जोड्नुपर्छ । अहिले यसरी प्लेट जडानका लागि यातायात व्यवस्था कार्यालयमा जानेको संख्या पनि बढ्दै गएको छ । कच्ची सडकमा गाडी चलाउनेहरुले यस्तो समस्या धेरै भोगिरहेका छन् । गाडी थर्किंदा होल्डर र प्लेटको प्वालको आकार बढ्दै गएर च्यातिने समस्या बढी देखिएको छ । अधिकांश सवारी साधनमा जोडिएका इम्बोस्ड प्लेट आफैं खुम्चिँदै जाने समस्या पनि छ । कतिपय प्लेट खसेपछि फेरि अड्याउन नमिलेपछि अंक र अक्षरलाई नै प्रभाव पर्ने गरी जोडिएको पनि छ ।






































