बाजुरा जिससमा एमालेका सबै उम्मेदवार निर्विरोध
वि.सं.२०७९ साउन ८ आइतवार १६:३५
shares

धनगढी ।जिल्ला समन्वय समिति बाजुरामा अन्य दलले उम्मेदवारी नदिएपछि सबै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत चयन भएका छन् । समन्वय समितिको प्रमुखमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्की सहित ९ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समन्वय समितिको खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महत्तरा, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक सर्वसम्मत भएका छन् । सर्वसम्मत चयन भएका प्रमुख, उपप्रमुख सहित सदस्यहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख रोकायालाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद धिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले उपप्रमुख सहित अन्य सदस्य शपथ खुवाएका थिए । ९ स्थानीय तह रहेको बाजुरामा ३० वैशाखमा भएको निर्वाचनमा ५ वटा र २३ असारमा बुढीगंगा नगरपालिका समेत गरेर ६ पालिकामा नेकपा एमालेले जितेको थियो ।
६ पालिका जितेपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत थियो । सोही कारणले अन्य दलले उम्मेदवारी नदिएका हुन् । जिल्ला समन्वय समितिमा कुल मतभार १८ रहेकोमा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका जितेको एमालेको मतभार १२ र एउटा नगरपालिका र २ वटा गाउँपालिका जितेको नेपाली काँग्रेसको मतभार ६ मात्रै थियो ।





































