कंगोमा तीन शान्ति सेनाको निधन
वि.सं.२०७९ साउन ११ बुधवार २०:०६
shares

काठमाडौं ।द्वन्द्वग्रस्त मुलुक कंगोमा खटिएको संयुक्त राष्ट्र संघीय शान्ति मिसन मोनुस्कोको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिँदा तीनजना शान्ति सैनिकको निधन भएको छ । संयुक्त राष्ट्र संघले प्रेस विज्ञप्ति जारी गर्दै एक शान्ति सैनिक र दुई यूएन प्रहरीको निधन भएको पुष्टि गरेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार मिसनको फोर्स हेडक्वार्टर रहेको शहरमा भएको तनावमा कम्तिमा १२ जना प्रदर्शनकारी पनि मारिएका छन् । कंगोको बुटेम्बो स्थित सैनिक बेसमा सोमबार देखि मोनुस्को मिसन विरुद्ध आन्दोलन चर्किएको छ । निधन हुने मध्ये दुई जना आफ्ना शान्ति सैनिक रहेको भारतका विदेश मन्त्री एस जयशंकरले बताएका छन् । तेस्रा व्यक्ति चाहिँ मोरोक्कोका सैनिक भएको बुटेम्बाका प्रहरी प्रमुख पल नग्माले भनेका छन् ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिक माथि भएको कुनै पनि आक्रमण ‘युद्ध अपराध’ हुने बताएका छन् । उनले कंगोका सम्बन्धित निकायलाई घटनामा जिम्मेवारहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भनेका छन् । गुटेरसले प्रदर्शनकारीको निधन बारे अनुसन्धान गर्न पनि कंगोका निकायलाई संयुक्त राष्ट्रसंघका तर्फ बाट सहयोग गरिने बताएका छन् ।




































