संसदीय समितिले अधुरो प्रतिबेदन आज बुझाउने
वि.सं.२०७९ साउन १३ शुक्रवार ०७:०३
shares

काठमाडौं ।पूर्वअर्थमन्त्री जनार्दन शर्मा माथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।
समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । उनले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
उनले बाँकी कुरा अहिले भन्न नमिल्ने पनि बताए । त्यस्तै, समिति सदस्य खगराज अधिकारीले प्रतिवेदन अन्तिम टुङ्गोमा पुगेको र सबैका आफ्ना–आफ्ना विचारहरू राखिएको तर सर्वसम्मत हुन नसकेको बताए ।
करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको म्याद ७ दिन थपिएको थियो । समितिको म्याद बिहीबार नै सकिएको छ ।


































