kumari
stcnepal

साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज भारत सँग खेल्दै

काठमाडौं ।भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारत सँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितेर आत्मविश्वास बटुलेको नेपाल लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपालले यसअघि माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । उता भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेश सँग २-१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपाल विरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले च्याम्पियनसिपका लागि कडा मिहिनेत गरेको र चारै टिम विरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘मैले चार वटै टिमलाई प्रतिस्पर्धीको रुपमा लिएको छु र उनीहरू भन्दा राम्रो खेलेर उनीहरुलाई हराउनैपर्छ ।’ नेपाल र भारत छिमेकी भएकोले पनि यी दुई टोलीको खेल हुँदा चर्चा पाउने केसीले बताए । पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ ।

सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् । तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ र फाइनल नजिक छ । दुई खेल बाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेल बाट ३ अंक सहित तेस्रो स्थानमा छ ।आजै माल्दिभ्स र श्रीलंका बीच सवा ४ बजे खेल हुनेछ । लगातार दुई खेल हारेको माल्दिभ्स र लगातार तीन खेल हारेको श्रीलंका अंकविहीन छन् ।

footer