kumari
stcnepal

प्रहरीको घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका

काठमाडौं ।एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो ।

दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ र बाहिर बाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।

प्राप्त प्रारम्भिक जानकारी अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवार बारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीता बीच मेलमिलाप थिएन ।

पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।

footer