सिट बाँडफाँट कार्यदलको पहिलो बैठक औपचारिकतामा सीमित
वि.सं.२०७९ साउन २३ सोमवार २०:३६
shares

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको पहिलो बैठक सोमबार बस्यो । तर कुनै दलले आफ्नो कार्ड नखोलेको नेताहरु बताउँछन् । २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल बनाएको थियो । कार्यदलको पहिलो बैठक सोमबार दिउँसो बालुवाटारमा बसेको थियो ।
एक सदस्यका अनुसार बैठक औपचारिकतामा सीमित भयो । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूसाल भन्छन्, ‘कसरी जाँदा ठीक होला, के आधारमा, कुन मापदण्डमा जाँदा ठीक होला भनेर छलफल गर्याैं । आज एकदमै प्रारम्भिक खालको छलफल भएको छ ।’ बैठकमा माओवादी नेता एवं कार्यदलका सदस्य वर्षमान पुनले भने २०७४ मा एमाले र माओवादी बीच सिट बाँडफाँटको अनुभव सुनाएका थिए । ‘ओली र प्रचण्ड बसेर ६०/४० टुंग्याएपछि अरु छलफल गर्न सहज भएको थियो’, उनले भने ।
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले भने गठबन्धन सिटको विषय मात्र नभएको भन्दै संविधान कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा बनाउनुपर्ने पार्टीको निर्णय सुनाएका थिए । एक सदस्य भन्छन्, ‘आज कसैले पनि पत्ता खोलेनन् । आ–आफ्नो पार्टीमा छलफल गरेर अर्को बैठकमा विषय प्रवेश गर्ने भन्ने भएको छ ।’ बैठकमा लोकतान्त्रिक पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी बारे समेत छलफल भएको थियो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले लोसपा नेताहरु सँग प्रधानमन्त्रीले सम्वाद गरिरहेको जानकारी दिएका थिए । माओवादी नेता पुनले भने डा. भट्टराई सँग आफूहरु पनि सम्वादमा रहेको बताए ।
तर दुबै दलबारे कुनै निर्णय भएन । कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ । ११ सदस्यीय कार्यललमा कांग्रेसका तीन सदस्य छन् भने अरु दलका २–२ जना छन् । कार्यदललाई साउन मसान्त भित्र सिट बाँडफाँट बारे सहमति जुटाएर प्रतिवेदन बुझाउन भनिएको छ । अर्को बैठक अघि दलहरु बीच द्विपक्षीय तथा बहुपक्षीय छलफल पनि हुन सक्ने नेताहरुले बताएका छन् । कार्यदलको अर्को बैटक साउन २६ गतेका लागि बोलाइएको छ ।




































