kumari
stcnepal

असन्तुष्ट नायब सुब्बाहरुको एसएमएस अर्थमन्त्रीलाई

काठमाडौं ।असमान ढंगले तलवमान निर्धारण गरिएको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् ।

हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् ।उनीहरुले पठाएको एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार । म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’ उनीहरुले तलब बढाउँदा सबै तहको समान हुने गरि मात्रै बढाउन माग गरेका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा नासुको पदपूर्तिका लागि विभेदपूर्ण व्यवस्था राखिएको भन्दै उनीहरुले त्यसलाई सच्याउनका लागि पहल गरिदिन पनि माग गरेका छन् ।

उनीहरुले निजामती सेवा ऐनमा नासुहरुको पदपूर्ति गर्दा खुल्ला बाट ५० प्रतिशत, बढुवा बाट ३० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा बाट २० प्रतिशत हुने व्यवस्थाको लागि पहल गरिदिन अनुरोध गरेका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा सुब्बा पदमा खुल्ला र बढुवा बाट ५०-५० प्रतिशत पदपूर्ति हुने व्यवस्था राखिए पनि आन्तरिक प्रतिस्पर्धा बाट पदपूर्ति नगर्ने उल्लेख छ । आफूहरु विभेदमा परेको भन्दै सुब्बाहरुले सोमबार सिंहदरबार भित्र ‘पेन डाउन’ गरेका थिए । आज उनीहरुले मुख्य सचिव, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री र अर्थ मन्त्रालयका सचिवलाई एसएमएस पठाएर दबाब दिने कार्यक्रम तय गरेका छन् ।

कतिपय नासुहरु आज कार्यालय नगएर विदामा बसेका नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए । नासुहरु विरोधमा उत्रिएपछि विभिन्न दल निकट कर्मचारीका नेताहरुले अर्थमन्त्रीलाई भेटेर विभेदपूर्ण व्यवस्था हटाउन माग गरेका थिए । मन्त्री शर्माले तलब बारे सार्वजनिक भएको विवरण लागू नगर्ने आश्वासन दिंदै आफूले बजेटमा गरेको व्यवस्था अनुसार सबै राष्ट्रसेवक कर्मचारीहरुलाई १५ प्रतिशतको दरले तलब वृद्धि मात्र लागू गर्ने बताएका थिए । नमिलेका अन्य विषय ‘पे कमिसन’ तलब आयोग गठन गरेर त्यसको सुझाव अनुसार अघि बढ्ने बताएका थिए ।

footer