प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने प्रधानमन्त्रीको आश्वासन पछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित
वि.सं.२०७९ साउन ३१ मंगलवार १४:४०
shares

जनकपुरधाम ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ । आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकार मंगलबार देखि आन्दोलन स्थगित गरेको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए ।
यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी दिए ।
प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पटक-पटक संघीय सरकारलाई दवाव दिएको, प्रधानमन्त्री सँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन शुरु गरेको थियो ।




































