माधव नेपालको पार्टी पनि माओवादी केन्द्रमा समाहित हुने
वि.सं.२०७९ भदौ २ बिहीवार १६:०७
shares

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोग र समर्थनमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश नै ल्याएर गठन गरिएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रमा समाहित हुने प्रायः निश्चित रहेको पहिला नै संकेत पाइएको थियो ।
अहिले पार्टी एकता गर्न एकीकृत समाजवादीले एकता कार्य दल नै बनाएको छ । उक्त कार्यदलमा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल सहितका अन्य केही नेता रहने छन् भने माओवादी केन्द्रबाट अध्यक्ष दाहाल सहितका नेताहरु रहने भएका छन् ।
माओवादी अध्यक्ष दाहाल पार्टी बाउने र भत्काएर फेरी अर्को पार्टी बनाउन माहिर रहेका छन् । एउटै पार्टीको नामबाट लामो समयसम्म जनतालाई झुक्याउन नसक्ने ठहर गरेरै दाहालले पछिल्लो समयमा वामपन्थी मोर्चा बनाउने प्रयास गरेका थिए ।
त्यो प्रयासले सार्थकता पाउन समय लाग्ने भएकाले गर्दा नेकपा एमाले बाहेकका अन्य साना कम्युनिष्ट पार्टीहरुलाई लिएर माओवादी केन्द्रका अध्यक्ष दाहालकै नेतृत्वमा समाजवादी पाटीको निर्माण गर्ने कसरतमा माओवादी केन्द्रका अध्यक्ष दाहाल सहित डा. बाबुराम भट्टराई, वामदेव गौतम, माधव नेपाल र झलनाथ खनाल सहमत भएको एक नेताले बताएका छन् ।
निर्वाचन अघि समय नपुग्ने र निर्वाचनको लागि खटिनुपर्ने भएकाले गर्दा अहिले माओवादी केन्द्रको चुनाव चिन्ह्रबाटै निर्वाचन लड्न भट्टराई र गौतम सहमत भएका हुन् । निर्वाचन पछिको अवस्थालाई हेरेर समाजवादी नामक पार्टी बन्न सक्छ, त्यसको नेतृत्व दाहालले गर्ने र अन्य नेताहरु पार्टीको वरिष्ठ नेताहरुमा बस्ने सहमति करिब करिब भईसकेको बताइएको छ ।
दाहालले फेरी एक पटक प्रधानमन्त्री बन्नका लागि डा. भट्टराई, गौतम, माधव नेपाल र झलनाथ खनाललाई प्रयोग गरिरहेको माओवादी केन्द्रकै नेताहरुले बताउन थालेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने डा. भट्टराई र दाहालबीचको सम्बन्धलाई लिएर असन्तुष्ट रहेका भएपनि उनी एक्लै रहेकाले दाहालको निर्णयलाई स्वीकार्नु बाहेक उनीसँग अन्य कुनै विकल्प छैन ।
दाहालले निर्वाचनपछि पार्टीको अवस्था हेरेर कांग्रेससँग आलोपालो प्रधानमन्त्री हुने प्रस्ताव बलियो बनाउनका लागि जेसुकै गर्न तयार रहेका छन् ।

































