महाभियोग सिफारिस समितिले आज पनि राणा सँग बयान लिने
वि.सं.२०७९ भदौ १६ बिहीवार ०७:३९
shares

काठमाडौं ।प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सँग बयान लिने भएको छ । हिजो बाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबार स्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो ।
समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । ती मध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ । सवाल–जवाफका क्रममा जबराले आफूले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सँग पाँचै जना न्यायाधीशलाई महाअभियोग लगाइदिन आग्रह गरेको खुलासा गरेका छन् । उनले ओली सँग आफूले हात जोडेर संवैधानिक इजलासमा राख्नुपर्ने न्यायाधीशलाई राख्न नसकेको र राख्नुनपर्ने न्यायाधीशलाई राख्नुपरेको जानकारी गराएको पनि बताएका छन् ।
उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् । जबरा विरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।





































