kumari
stcnepal

अब बन्ने सरकार पनि सरकारका लागि सरकारमात्र

 

मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचन सम्पन्न भई परिणाम समेत सार्वजनिक भईसकेको छ । राजनीतिक दलहरुले गठबन्धन गरेर जनताकहाँ गएकाले गर्दा जनताले यस पटक स्वतन्त्र रुपमा आफ्नो अभिमत जाहेर गर्न पाएनन् । सत्ता गठबन्धनले नेकपा एमालेलाई एक्ल्याउने एकमात्र रणनीतिक उदेश्य लिएर निर्वाचनमा गएको थियो तर जनताले सत्ताधारी गठबन्धनलाई उसको रणनीतिक उदेश्यमाथि नै अविश्वास जाहेर गरेर नेकपा एमालेलाई समानुपातिक तर्फ सबैभन्दा ठुलो दल बनाई दिएका छन् ।
प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कांग्रेस ठलो दल बन्न सफल भएपनि कांग्रेसको मतले मात्र उ ठुलो पार्टी बनेको होइन । सत्ता गठबन्धनले मुलुकभरमै गठबन्धन गरेका भएपनि उनीहरुले चाहेजस्तो परिणाम ल्याउन सकेनन् । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत पार्टीले समानुपातिक तर्फ जम्मा खसेको मतको सदर मतको ३ प्रतिशत मत सम्म ल्याउन सकेन । त्यसै कारणले प्रष्ट हुन्छ नेकपा एकीकृत पार्टीले जित हाँसिल गरेको १० सिट पाँच दलीय गठबन्धनको मतले नै उ विजयी बनेको हो भनेर ।
पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएपनि ४४ निर्वाचन क्षेत्रमा गठबन्धनलाई नेकपा एमालेले पराजित गरेको छ । प्रत्यक्षतर्फ नेकपा एमालेले ४४ निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको छ । सत्ता गठबन्धनले गठबन्धन गरेर निर्वाचनमा गएको हुनाले नेकपा एमालेले बाध्य भएर राप्रपा र जसपासँग २४ निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने सत्ता गठबन्धनले मुलुकभरमै गठबन्धन गरेको थियो ।
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले एक्लै पराजित गरेका छन् । प्युठान लगायतका कतिपय जिल्लामा राप्रपा र जसपाको खासै प्रभाव नभएको भएपनि प्युठानमा एमालेका उम्मेदवारले पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई ठुलो मतान्तरले पराजित गरेका छन् भने अन्य कतिपय निर्वाचन क्षेत्रमा पनि एमालेले एक्लै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुनाले जनता अहिलेपनि एमालेकै पक्षमा रहेको प्रष्ट देखिएको छ ।
पाँच दलीय गठबन्धनलाई पराजित गर्न सक्नु एमालेको लागि चुनौती रहेको र जसरी भएपनि निर्वाचनमा बहुमत ल्याउने रणनीतिक उदेश्य माथि जनताले नै विश्वास गर्न नसकेका हुनाले गठबन्धनले चाहेजस्तो परिणाम ल्याउन सकेनन् । सत्ता गठबन्धनले कतिपय निर्वाचन क्षेत्रमा व्यापक धाँधली गरी बुथ कब्जा गरेको थियो । सत्ताको दुरुपयोग गर्दै जित हाँसिल गर्न खोज्ने सत्ता गठबन्धनको प्रयास केही ठाउँमा सफल भएपनि धेरै ठाउँमा जनताले नै सत्ता गठबन्धनको प्रयासलाई असफल पारिदिएका छन् । निर्वाचन जित्नु मात्र ठुलो विजय होइन । जनतामा कुन दलको प्रभाव कस्तो रहेछ भनेर मापन गर्ने मुख्य आधार भनेको कुन दलले समानुपातिकतर्फ बढी मत पायो भन्ने नै हो ।
गठबन्धन गरेर जनताकहाँ जाँदा निर्वाचन क्षेत्र भाग लगाउनुपर्ने र गठबन्धनमा रहेको दलले १ सय ६५ निर्वाचन क्षेत्रमा साझा उम्मेदवार उठाएका हुनाले जनताले आफूले मन पराएको उम्मेदवारलाई मत हाल्न पाएन् । सत्ता गठबन्धनले नै जनताको अधिकार खोसेको छ । एक्लाएक्लै दलहरु निर्वाचनमा गएका भए राजनीतिक दलहको मापन जनताबाटै हुन सक्थ्यो तर त्यसो नगरी जनतालाई जबरजस्ती आफूले मन नपराएको उम्मेदवारलाई मत हाल्न बाध्य पारिएकै कारण यस पटक ६१ प्रतिशत मात्र मत खसेको र जनताले परम्परागत पार्टीलाई भन्दा अन्य नयाँ पार्टीलाई मतदान गरेका छन् । पार्टी गठन भएको ६ महिना नपुग्दै नयाँ पार्टीले राम्रो नतिजा ल्याउनु र ठुलो मात्रामा समानुपातिक तर्फको मत पाउनुको कारण पनि त्यही हो ।
सत्ता गठबन्धनमा रहेका दलहरुले एउटै साझा चुनावी घोषणापत्र ल्याउन सकेनन् । आ आफ्ना घोषणापत्र ल्याएका हुनाले अब बन्ने गठबन्धनको सरकारले सबै दलका चुनावी घोषणापत्रलाई लागु गर्न सक्ने अवस्था नै रहँदैन । त्यसैले निर्वाचनका बेला जारी गरिएका चुनावी घोषणापत्रहरु हात्तीको देखाउने दाँत जस्तै भएका छन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले कसले पहिला प्रधानमन्त्री पाउने भन्नेमै अन्यौल रहेको र कांग्रेसभित्र पनि संस्थापन पक्ष र संस्थापन इतर पक्षको आ आफ्नै अडान रहेको कारणले गर्दा सत्ता गठबन्धनको सरकार दुई वर्षसम्म चलेपनि त्यसपछि विग्रह आउन सक्ने सम्भावना रहेको छ ।
सम्वैधानिक व्यवस्था अनुसार २ वर्षसम्म संसदमा अविश्वासको प्रस्ताव राख्न नसकिने भएकाले गर्दा दुई वर्षसम्म जसको नेतृत्वमा सरकार बनेपनि सरकारलाई कुनै सकट रहँदैन तर त्यसपछि राजनीतिक समिकरण बदलिन सक्छ । एउटै पार्टीको सरकार नभएकाले र स साना पार्टीहरुलाई समेत समर्थनमा लिनुपर्ने बाध्यताले गर्दा अब बन्ने सरकार पनि सरकारका लागि सरकारमा मात्र हुने प्रायः निश्चित रहेको छ ।
अब बन्ने सरकारले जनताले चाहेजस्तो काम गर्न नसक्ने र प्रदेश सरकारहरु पनि गठबन्धनकै हुने भएकाले प्रदेश सरकारले पनि जनताका समस्याहरु समाधान गर्न सम्भावना नरहेकोले गर्दा जनताका समस्याहरु समाधान हुने र मुलुक तिव्र विकासको लागि अघि बढ्न सक्ने कुनै सम्भावना नरहेको हामीले ठानेका छौँ । त्यसैले भन्न सकिन्छ अब बन्ने सरकार पनि सरकारका लागि सरकार मात्र हुने भनेर ।

footer