२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद नबोलाउँदै मध्यावधिको ढोल बज्नथाल्यो

663
shares

 

राजन कार्की

निर्वाचन आयोगले चुनावी रिपोर्ट राष्ट्रपतिलाई बुझाएकै छैन । २७५ सिटको संसदमा कांग्रेस र एमाले मिलेमात्र अन्यथा बहुमतको सरकार बन्न ८ दलसम्म मिल्नुपर्ने बाध्यात्मक अवस्था देख्नेहरु भन्न थालेका छन्, अब बन्ने सरकार वर्षदिन पनि चल्न सक्दैन ।
कसैलाई प्रधानमन्त्री, कसैलाई राष्ट्रपति, उपराष्ट्रपति, कसैलाई सभामुख, संवैधानिक निकायमा भागबण्डा, कसैलाई रोज्जा र बढी मन्त्रालय दिनुपर्ने अवस्थाले भाग शान्ति जय नेपालनै यो निर्वाचन परिणामको निष्कर्ष हो भन्दा फरक पर्दैन । किनकि परमादेशबाट बनेको सरकारका गठबन्धनवालाहरुको मंसिर २० को बैठकले ठगबन्धन भनेर बदनाम भएको गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । यतिमात्र होइन, कांग्रेस, माओवादीले दुई दुई वर्ष र एकीकृत समाजवादीका माधवकुमार नेपालले समेत एकवर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने विषयसमेत बहसमा परेको छ ।
परिवर्तनपछि १५ वर्षमा पनि अब होला कि, अब होला कि भन्ने स्थितिको अन्त्य हुनसकेन । जनता जनार्दनले सहमतिको राजनीति गर्न जनादेश दिए पनि निषेध र विभेद अर्थात गठबन्धन र एमालेबीचको दूरी झन बढेको छ । हो, एमाले प्रतिपक्षीमा बस्ला तर गठबन्धनले कसकसलाई कसरी भागबण्डा लगाएर सरकार चलाउला भन्न सकिन्न । हुन त ०५२ सालपछि प्रधानमन्त्री बनेका देउवाको यो पाँचौबाट छैठौं पटक प्रधानमन्त्री बन्दासम्म सांसदलाई अनैतिक पोखरीमा चुर्लुम्म डुब्ने र डुबाउन सक्ने बद्नाम चरित्र सबैलाई थाहा छ । उनले ढुकुटी रित्याएर भए पनि गठबन्धन सरकार चलाउने विश्वास गर्न सकिन्छ । यसपटकको चुनावको नतिजा पनि ०५२, ०५८ सालतिरैको जस्तो अवस्थामा देखियो । उही भाग शान्ति जय नेपाल, उही सेटिङ र लेनदेनको स्थिति । न सिद्धान्त, न नीति, न यसो गर्छु भन्ने भिजन । यदि चल्यो भने आउने ५ वर्ष पनि भ्यागुताको धार्नी नै हुने भयो राजनीतिक स्थिरता । मुलुकले निकास नपाउने भयो । अनैतिकता र भ्रष्टाचार बेस्सरी बढ्ने भयो ।
संविधानविदहरु नै भन्छन्– यो संविधान चाल्नोजस्तो प्वालैप्वाल परेको छ । यो संविधानको दोष हो । व्यवस्थाको दोष हो । व्यवस्था सञ्चालकको असक्षमता हो । यसपटकको निर्वाचनले पनि स्थिरता र स्थायित्व नदिनु भनेको नेतृत्वको असफलता हो । जनताले कुनै पनि पार्टी वा नतृत्वलाई पत्याएनन् । केही नयाँ, धेरै पुरानालाई जिताउनु भनेको जनताले पत्याउने नेतृत्वको अभाव हो । यद्यपि अर्को चुनावका लागि हरेक नेता वा पार्टीलाई जनताले खबरदार गरेको अर्थमा पनि यसपल्टको नतिजालाई हेरिएको छ ।
जनअविश्वासमा परेका यस्ता नेताहरु गँजडी गफ गर्छन्, समृद्धी र शान्तिको । ०६३ सालको सगर छुने ऐतिहासिक आन्दोलन १५ वर्षकै अवधिमा पाताल भासियो । हातको शोभायमान औंठी लोकतन्त्र, चंगाको कौंठी हुनपुग्यो, रूखतिर अड्कियो, भुइँमा पछारियो ।
उर्लेको खहरे कति रहन्छ र ? त्यही कविता र यही लोकोक्तिजस्तै भयो लोकतन्त्र । सामाजिक क्षेत्रमा समान व्यवहार र अवसर नदिने र लोकमाथि नैतिकहीन नियतका साथ लोकतान्त्रिक डम्फुमात्र बजाउने गर्नाले यिनको चटके सीपदेखि जनताहरू वाक्क भइसकेका छन् । जनताको भोको पेट, अन्यायमा परेको मानसिकता लिएर यी राजनीतिक चटक देखाउन सिपालुहरूको बेतालको डम्फुमा कतिञ्जेल नाचिरहने ? लोकतान्त्रिक नेताहरूको जे जति क्रियाकलापहरू देखिन्छ, ती सबै पाखण्डभन्दा पर केही पनि होइनन् । इमानदारिताबिनाको भाषण पाखण्ड हो ? जनयुद्ध र जनआन्दोलनलाई पाखण्ड साबित गर्ने सामल आफैले जोहो गरे नेताहरूले । पाखण्ड हिजो थियो, आज छ र निरन्तर जारी रहने वातावरण विकसित हुँदै गएको छ ।
कस्तुरी भनेपछि सुँघिरहनु पर्दैन । किनभने कस्तुरीको बास्नाले वातावरण नै सुगन्धमय बनाइदिन्छ । लोकतन्त्र कस्तुरीजस्तै बास्नादार हुनुपथ्र्यो, लोकतन्त्रको सुवासले सारा देश सुगन्धित भइसक्नुपथ्र्यो । परिवर्तनको १५ वर्ष र संविधान जारी भएको ७ वर्षमा पनि हुँडलो मच्चिरहेकै छ । शान्ति कता हो, समृद्धि कता हो, पीडितले पाउनै पर्ने न्यायव्यवस्था झन कता हो कता ? लोकतान्त्रिक पद्धति अपनाउने निर्णय त गरियो, नैतिक आचरण हरायो । पुरानो छानो फालेपछि नयाँ छानो हाल्न नसक्नु ठूलो कमजोरी हो, यही कमजोरीका कारण वर्षाको झरीले भिजियो, हिउँदको घामले पोल्यो । न रोजगारी पाइयो, न चौतर्फी अन्यायबाट छुटकारा । बाँच्नेका लागि गाँस र बास चाहिन्छ, मर्ने त मरे, बाँच्ने पनि अन्याय झेलिरहेछन् । बचाउने लोककल्याणकारी पद्धतिले हो, पद्धतिचलाउने नै पागल चरित्रको भएपछि लोकतन्त्र कसरी जनजीवन बन्थ्यो र ?
यस्तो पद्धति अब चल्न सक्दैन । लोकका ओठका कलेटी र नेताका चमकदार अनुहार लोकतन्त्रको ऐना हो । भाषणलेमात्र लोकतन्त्र चहकिलो देखिन्न । जनताले न्यायको अनुभूति, समानताको अनुभव गर्न नपाएको देख्ने जो कोही भन्छन्– यस्तो लोकतन्त्र जनतामा भिज्नै सक्दैन । लोकतन्त्रप्रति जनताले अपनत्व ग्रहण गरेकै छैनन् ।
यो लोकतन्त्र नेता र तिनका परिवारका लागि मात्र हो भन्ने साबित भइसक्यो । हलेदो भनेपछि कोट्याइरहनु पर्दैन । लोकतन्त्र त्यस्तै सावित भइसकेको छ । अब्राहम लिंकनले प्रजातन्त्र भनेको बाई दी पिपुल, टु दी पिपुल, फर दी पिपुल भनेका थिए, नेपालको प्रजातन्त्र बाई दी पार्टी, टु दी पार्टी, फर दी पार्टी पो भयो । पार्टी, पार्टीका नेता र पहुँचवालाहरूलाई लोकतन्त्र बम्पर उपहार बनेको छ । राज्यको उपस्थिति, राज्यले गर्नैपर्ने जिम्मेवारी पूरा नगरेका कारणले शासितहरू सास्तीमा छन्, जोखिममा छन्, शोषणमा परेका छन् । कांग्रेसले ०४६ सालमै नेपाललाई सिंगापुर बनाउने भनेको थियो, माओवादीले स्वीट्जरलेण्ड बनाउँछौं भनेको पनि दशक भइसक्यो, एमाले त सपना बेच्ने फौबञ्जार नै भइहाल्यो । पश्चिमबाट सूर्य उदाउँछ भन्नेहरू सबै असफल भए, देश असफल भयो । नियममा नबस्नेले प्रकृतिको नियम तोड्छु भन्ने कुरा हुटिट्याउँको गफ थियो, गफैमा सिमित रह्यो । माक्र्सवाद, लेनिनवाद, माओवादले सर्वहाराको क्रान्ति सफल पार्ने सपना देखेर जनयुद्धमा होमिएका र बन्दुकको नालबाट शक्ति निस्कन्छ भन्ने भ्रम त्यागेर सत्ता हाँक्ने सबै असफल भए । न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले विकास गर्न सम्भव छैन । यी वाद कुनै नेताको चरित्रमा देखिन्न ।
इमान प्रमुख हो भने १७ हजार जनतालाई किन मारियो ? देशका पूर्वाधारदेखि संस्कृति, इतिहास, सम्पदा नष्ट किन गरियो ? त्यसको जिम्मेवारी लिनुपथ्र्यो । प्रजातन्त्र भन्ने र समृद्धि देखाउनेहरू किन भ्रष्टाचारमा मुछिए, तिनले खरीमा घोटिनुपथ्र्यो । गैह्रजिम्मेवार हुने छुट राष्ट्रिय स्तरका नेता वा प्रशासकहरूलाई हुन्छ र ? कि लोकतन्त्रमा नेतालाई पञ्चखत माफी हुने निमुखाहरूका लागि ऐन हुने हो ?
विद्वानहरू भन्छन्– किताव (ज्ञान) नष्ट गर्नेलाई बिब्लियोक्लेस्ट भनिन्छ, यी लोकतन्त्र नष्ट गर्नेलाई डेमोक्र्याब्लियोक्लेस्ट किन नभन्ने ? साँच्चै नेपालमा लोकतन्त्र छैन । संसद, सरकार, राज्य सञ्जाल, जता हेरे पनि सेटिङ र सिण्डिकेट देखिन्छ । अब बन्ने संसद, सरकार र तिनका चरित्र पनि सिण्डिकेटतन्त्रवाला नै हुनेछ । पहिले पहिले सार्वजनिक सवारी चलाउनेहरूले ज्यादा मुनाफा कमाउने उद्देश्यले सिण्डिकेट चलाउने गर्थे, राजनीतिक बर्गले त्यही सिको गरे, राजनीतिलाई व्यवसाय बनाए र स्वार्थशिद्ध गरिरहेका छन् । राजनीति गर्ने र चेलीबेटी बेच्ने, न्याय र कानुनसँग माफिया बर्गको सेटिङमा भिन्नता देखिन छाड्यो ।
अचम्म त के छ भने निर्वाचनका बेलामा कुनै पनि नेता वा दलले चुनाव जितेर यी काम गर्छौ भनेर किटानी योजना देखाएनन् । शान्ति र प्रगति गर्ने फुइँकीमात्र लगाए । अब बन्ने गठबन्धन सरकारले पनि के के काम गर्ने सूची प्रकाशित गर्न चासो राखेको छैन । जब एजेण्डा नै हुन्न र टालाटुली बटुली पुतली जस्तो सरकार बनाइन्छ, पुतली नाचले तारेभीरमा पुगिसकेको देशको अवस्था सुध्रनेवाला छैन । जुन अवस्था अफगानिस्तान अथवा श्रीलंकामा देखियो, नेपाल त्यही मार्गमा बुर्कुसी मार्न थालेको अनुभूत जो कसैले गरेका छन् ।
अहिलेलाई यत्ति भनौं, जुन हालत अफगानिस्तान र श्रीलंकाका नेताहरुको भयो, त्यस्तो दुर्गति हाम्रा नेताहरुले भोग्नु नपरोस् । यिनको बुद्धि बंगारो समयछँदै पलाओस् । जो सरकारमा जाउन्, जनता र देशलाई नबिर्सियुन्, ताकि जनताले अर्को सुनामी ल्याउन नपरोस ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports