kumari
stcnepal

संसद नबोलाउँदै मध्यावधिको ढोल बज्नथाल्यो

 

राजन कार्की

निर्वाचन आयोगले चुनावी रिपोर्ट राष्ट्रपतिलाई बुझाएकै छैन । २७५ सिटको संसदमा कांग्रेस र एमाले मिलेमात्र अन्यथा बहुमतको सरकार बन्न ८ दलसम्म मिल्नुपर्ने बाध्यात्मक अवस्था देख्नेहरु भन्न थालेका छन्, अब बन्ने सरकार वर्षदिन पनि चल्न सक्दैन ।
कसैलाई प्रधानमन्त्री, कसैलाई राष्ट्रपति, उपराष्ट्रपति, कसैलाई सभामुख, संवैधानिक निकायमा भागबण्डा, कसैलाई रोज्जा र बढी मन्त्रालय दिनुपर्ने अवस्थाले भाग शान्ति जय नेपालनै यो निर्वाचन परिणामको निष्कर्ष हो भन्दा फरक पर्दैन । किनकि परमादेशबाट बनेको सरकारका गठबन्धनवालाहरुको मंसिर २० को बैठकले ठगबन्धन भनेर बदनाम भएको गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । यतिमात्र होइन, कांग्रेस, माओवादीले दुई दुई वर्ष र एकीकृत समाजवादीका माधवकुमार नेपालले समेत एकवर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने विषयसमेत बहसमा परेको छ ।
परिवर्तनपछि १५ वर्षमा पनि अब होला कि, अब होला कि भन्ने स्थितिको अन्त्य हुनसकेन । जनता जनार्दनले सहमतिको राजनीति गर्न जनादेश दिए पनि निषेध र विभेद अर्थात गठबन्धन र एमालेबीचको दूरी झन बढेको छ । हो, एमाले प्रतिपक्षीमा बस्ला तर गठबन्धनले कसकसलाई कसरी भागबण्डा लगाएर सरकार चलाउला भन्न सकिन्न । हुन त ०५२ सालपछि प्रधानमन्त्री बनेका देउवाको यो पाँचौबाट छैठौं पटक प्रधानमन्त्री बन्दासम्म सांसदलाई अनैतिक पोखरीमा चुर्लुम्म डुब्ने र डुबाउन सक्ने बद्नाम चरित्र सबैलाई थाहा छ । उनले ढुकुटी रित्याएर भए पनि गठबन्धन सरकार चलाउने विश्वास गर्न सकिन्छ । यसपटकको चुनावको नतिजा पनि ०५२, ०५८ सालतिरैको जस्तो अवस्थामा देखियो । उही भाग शान्ति जय नेपाल, उही सेटिङ र लेनदेनको स्थिति । न सिद्धान्त, न नीति, न यसो गर्छु भन्ने भिजन । यदि चल्यो भने आउने ५ वर्ष पनि भ्यागुताको धार्नी नै हुने भयो राजनीतिक स्थिरता । मुलुकले निकास नपाउने भयो । अनैतिकता र भ्रष्टाचार बेस्सरी बढ्ने भयो ।
संविधानविदहरु नै भन्छन्– यो संविधान चाल्नोजस्तो प्वालैप्वाल परेको छ । यो संविधानको दोष हो । व्यवस्थाको दोष हो । व्यवस्था सञ्चालकको असक्षमता हो । यसपटकको निर्वाचनले पनि स्थिरता र स्थायित्व नदिनु भनेको नेतृत्वको असफलता हो । जनताले कुनै पनि पार्टी वा नतृत्वलाई पत्याएनन् । केही नयाँ, धेरै पुरानालाई जिताउनु भनेको जनताले पत्याउने नेतृत्वको अभाव हो । यद्यपि अर्को चुनावका लागि हरेक नेता वा पार्टीलाई जनताले खबरदार गरेको अर्थमा पनि यसपल्टको नतिजालाई हेरिएको छ ।
जनअविश्वासमा परेका यस्ता नेताहरु गँजडी गफ गर्छन्, समृद्धी र शान्तिको । ०६३ सालको सगर छुने ऐतिहासिक आन्दोलन १५ वर्षकै अवधिमा पाताल भासियो । हातको शोभायमान औंठी लोकतन्त्र, चंगाको कौंठी हुनपुग्यो, रूखतिर अड्कियो, भुइँमा पछारियो ।
उर्लेको खहरे कति रहन्छ र ? त्यही कविता र यही लोकोक्तिजस्तै भयो लोकतन्त्र । सामाजिक क्षेत्रमा समान व्यवहार र अवसर नदिने र लोकमाथि नैतिकहीन नियतका साथ लोकतान्त्रिक डम्फुमात्र बजाउने गर्नाले यिनको चटके सीपदेखि जनताहरू वाक्क भइसकेका छन् । जनताको भोको पेट, अन्यायमा परेको मानसिकता लिएर यी राजनीतिक चटक देखाउन सिपालुहरूको बेतालको डम्फुमा कतिञ्जेल नाचिरहने ? लोकतान्त्रिक नेताहरूको जे जति क्रियाकलापहरू देखिन्छ, ती सबै पाखण्डभन्दा पर केही पनि होइनन् । इमानदारिताबिनाको भाषण पाखण्ड हो ? जनयुद्ध र जनआन्दोलनलाई पाखण्ड साबित गर्ने सामल आफैले जोहो गरे नेताहरूले । पाखण्ड हिजो थियो, आज छ र निरन्तर जारी रहने वातावरण विकसित हुँदै गएको छ ।
कस्तुरी भनेपछि सुँघिरहनु पर्दैन । किनभने कस्तुरीको बास्नाले वातावरण नै सुगन्धमय बनाइदिन्छ । लोकतन्त्र कस्तुरीजस्तै बास्नादार हुनुपथ्र्यो, लोकतन्त्रको सुवासले सारा देश सुगन्धित भइसक्नुपथ्र्यो । परिवर्तनको १५ वर्ष र संविधान जारी भएको ७ वर्षमा पनि हुँडलो मच्चिरहेकै छ । शान्ति कता हो, समृद्धि कता हो, पीडितले पाउनै पर्ने न्यायव्यवस्था झन कता हो कता ? लोकतान्त्रिक पद्धति अपनाउने निर्णय त गरियो, नैतिक आचरण हरायो । पुरानो छानो फालेपछि नयाँ छानो हाल्न नसक्नु ठूलो कमजोरी हो, यही कमजोरीका कारण वर्षाको झरीले भिजियो, हिउँदको घामले पोल्यो । न रोजगारी पाइयो, न चौतर्फी अन्यायबाट छुटकारा । बाँच्नेका लागि गाँस र बास चाहिन्छ, मर्ने त मरे, बाँच्ने पनि अन्याय झेलिरहेछन् । बचाउने लोककल्याणकारी पद्धतिले हो, पद्धतिचलाउने नै पागल चरित्रको भएपछि लोकतन्त्र कसरी जनजीवन बन्थ्यो र ?
यस्तो पद्धति अब चल्न सक्दैन । लोकका ओठका कलेटी र नेताका चमकदार अनुहार लोकतन्त्रको ऐना हो । भाषणलेमात्र लोकतन्त्र चहकिलो देखिन्न । जनताले न्यायको अनुभूति, समानताको अनुभव गर्न नपाएको देख्ने जो कोही भन्छन्– यस्तो लोकतन्त्र जनतामा भिज्नै सक्दैन । लोकतन्त्रप्रति जनताले अपनत्व ग्रहण गरेकै छैनन् ।
यो लोकतन्त्र नेता र तिनका परिवारका लागि मात्र हो भन्ने साबित भइसक्यो । हलेदो भनेपछि कोट्याइरहनु पर्दैन । लोकतन्त्र त्यस्तै सावित भइसकेको छ । अब्राहम लिंकनले प्रजातन्त्र भनेको बाई दी पिपुल, टु दी पिपुल, फर दी पिपुल भनेका थिए, नेपालको प्रजातन्त्र बाई दी पार्टी, टु दी पार्टी, फर दी पार्टी पो भयो । पार्टी, पार्टीका नेता र पहुँचवालाहरूलाई लोकतन्त्र बम्पर उपहार बनेको छ । राज्यको उपस्थिति, राज्यले गर्नैपर्ने जिम्मेवारी पूरा नगरेका कारणले शासितहरू सास्तीमा छन्, जोखिममा छन्, शोषणमा परेका छन् । कांग्रेसले ०४६ सालमै नेपाललाई सिंगापुर बनाउने भनेको थियो, माओवादीले स्वीट्जरलेण्ड बनाउँछौं भनेको पनि दशक भइसक्यो, एमाले त सपना बेच्ने फौबञ्जार नै भइहाल्यो । पश्चिमबाट सूर्य उदाउँछ भन्नेहरू सबै असफल भए, देश असफल भयो । नियममा नबस्नेले प्रकृतिको नियम तोड्छु भन्ने कुरा हुटिट्याउँको गफ थियो, गफैमा सिमित रह्यो । माक्र्सवाद, लेनिनवाद, माओवादले सर्वहाराको क्रान्ति सफल पार्ने सपना देखेर जनयुद्धमा होमिएका र बन्दुकको नालबाट शक्ति निस्कन्छ भन्ने भ्रम त्यागेर सत्ता हाँक्ने सबै असफल भए । न्यायवाद, समृद्धवाद र सत्यबाद बाहेकका अन्य वादले विकास गर्न सम्भव छैन । यी वाद कुनै नेताको चरित्रमा देखिन्न ।
इमान प्रमुख हो भने १७ हजार जनतालाई किन मारियो ? देशका पूर्वाधारदेखि संस्कृति, इतिहास, सम्पदा नष्ट किन गरियो ? त्यसको जिम्मेवारी लिनुपथ्र्यो । प्रजातन्त्र भन्ने र समृद्धि देखाउनेहरू किन भ्रष्टाचारमा मुछिए, तिनले खरीमा घोटिनुपथ्र्यो । गैह्रजिम्मेवार हुने छुट राष्ट्रिय स्तरका नेता वा प्रशासकहरूलाई हुन्छ र ? कि लोकतन्त्रमा नेतालाई पञ्चखत माफी हुने निमुखाहरूका लागि ऐन हुने हो ?
विद्वानहरू भन्छन्– किताव (ज्ञान) नष्ट गर्नेलाई बिब्लियोक्लेस्ट भनिन्छ, यी लोकतन्त्र नष्ट गर्नेलाई डेमोक्र्याब्लियोक्लेस्ट किन नभन्ने ? साँच्चै नेपालमा लोकतन्त्र छैन । संसद, सरकार, राज्य सञ्जाल, जता हेरे पनि सेटिङ र सिण्डिकेट देखिन्छ । अब बन्ने संसद, सरकार र तिनका चरित्र पनि सिण्डिकेटतन्त्रवाला नै हुनेछ । पहिले पहिले सार्वजनिक सवारी चलाउनेहरूले ज्यादा मुनाफा कमाउने उद्देश्यले सिण्डिकेट चलाउने गर्थे, राजनीतिक बर्गले त्यही सिको गरे, राजनीतिलाई व्यवसाय बनाए र स्वार्थशिद्ध गरिरहेका छन् । राजनीति गर्ने र चेलीबेटी बेच्ने, न्याय र कानुनसँग माफिया बर्गको सेटिङमा भिन्नता देखिन छाड्यो ।
अचम्म त के छ भने निर्वाचनका बेलामा कुनै पनि नेता वा दलले चुनाव जितेर यी काम गर्छौ भनेर किटानी योजना देखाएनन् । शान्ति र प्रगति गर्ने फुइँकीमात्र लगाए । अब बन्ने गठबन्धन सरकारले पनि के के काम गर्ने सूची प्रकाशित गर्न चासो राखेको छैन । जब एजेण्डा नै हुन्न र टालाटुली बटुली पुतली जस्तो सरकार बनाइन्छ, पुतली नाचले तारेभीरमा पुगिसकेको देशको अवस्था सुध्रनेवाला छैन । जुन अवस्था अफगानिस्तान अथवा श्रीलंकामा देखियो, नेपाल त्यही मार्गमा बुर्कुसी मार्न थालेको अनुभूत जो कसैले गरेका छन् ।
अहिलेलाई यत्ति भनौं, जुन हालत अफगानिस्तान र श्रीलंकाका नेताहरुको भयो, त्यस्तो दुर्गति हाम्रा नेताहरुले भोग्नु नपरोस् । यिनको बुद्धि बंगारो समयछँदै पलाओस् । जो सरकारमा जाउन्, जनता र देशलाई नबिर्सियुन्, ताकि जनताले अर्को सुनामी ल्याउन नपरोस ।

footer