kumari
stcnepal

अस्थिर राजनीतिको फाइदा उठाउँदै दाहाल

 

नीतिहरुको उत्तम नीति राजनीति हो । राजनीतिले नै देशको भविष्य निर्धारण गर्ने गरेको छ । त्यही कारणले गर्दा राजनीतिलाई उत्तम नीति भनिएको हो । राजनीतिलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरिएको खण्डमा त्यो राजनीति नभएर देश लुट्ने नीतिमा गनिन्छ ।
अहिले हामीकहाँ भएको राजनीतिलाई उत्तम राजनीति भन्न सकिने अवस्था देखिएको छैन । गत मंसिर ४ गते सम्पन्न भएको संघीय र प्रदेशसभाको निर्वाचनमा कुनै पनि दलले सरकार निर्माण गर्न आवश्यक संख्या ल्याउन सकेनन् । त्यसबेला कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारमा कांग्रेस सहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरु मिलेर गठबन्धन नै गरेर निर्वाचनमा गएका थिए । अर्को तर्फ नेकपा एमालेले सत्ता गठबन्धनमै रहेका जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही स्थानमा तालमेल गरेको थियो । निर्वाचनको परिणामले कुनै पनि दलले एक्लै सरकार निर्माण गर्न सक्ने अवस्था नदेखिएपछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरेको हुनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखेर उनी नेकपा एमालेको शरणमा पुगेका थिए ।
पुस १० गते पुष्पकमल दाहाल नेकपा एमाले सहित अन्य दलहरुको समर्थन र केपी ओलीको संयोजनमा प्रधानमन्त्री बन्न सफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर राजनीतिक चरित्रको फाइदा उठाउन कांग्रेसले प्रधानमन्त्री दाहाललाई पुस २६ गते संसदमा विश्वासको मत दिएर एमाले–माओवादी सहितको गठबन्धन टुटाउने रणनीति लिएको थियो । त्यो रणनीति एउटा जाल थियो सो जालमा माओवादी केन्द्र फस्यो । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बन्दा एमाले सहितका सात दलसँग गरेको सहमतिको उल्लंघन गर्दै कांग्रेसले थापेको ढोक्सामा परे । उनको त्यो व्यवहारलाई विवाह एउटासँग सुहागरात अर्कोसँग मनाउन पुग्नु जस्तै थियो ।
कांग्रेसले आफू ठुलो पार्टी भएकाले आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पाउनुपर्ने अडान पुस १० गते सम्म लिएको थियो तर दाहाललाई एमालेले प्रधानमन्त्री बनाएको हुनाले प्रधानमन्त्री दाहाललाई समर्थन गर्दै आफूले राष्ट्रपति पाएको खण्डमा दाहाललाई प्रधानमन्त्रीमा स्वीकार गर्ने रणनीति लिएको हुनाले दाहाल कांग्रेसको ढोक्सामा पर्न पुगेका हुन् । यसरी छोटो समयमै आफ्नो स्वार्थका लागि आफूलाई कांग्रेसले अस्वीकार गरेको बेला प्रधानमनत्री बनाउने एमाले सहितका अन्य दलहरुलाई धोका दिएर अर्को दलसँग सहमति गर्न पुग्नु दाहालको अस्थिर राजनीतिक चरित्र बाहेक अन्य केही हुन सक्दैन ।
अस्थिर राजनीतिक चरित्रका कारण केही समयका लागि फाइदा भएपनि भविष्यका लागि त्यो घातक सावित हुन सक्छ । जसरी आलु सबै तरकारीमा लगायत मासुमा पनि मिल्न सक्छ त्यसैगरी दाहाल पनि आलुजस्तै सबैसँग मिल्न सक्छन् आफ्नो स्वार्थका लागि । राजनीतिमा आलु चरित्रको कुनै अर्थ रहँदैन । राजनीति भनेको नीतिहरुको उत्तम निित भएपनि पुष्पकमल दाहाल र उनको पार्टीले त्यसलाई आलु नीति बनाएका छन् । राजनीतिमा कसैलाई पनि धोका दिनु हुँदैन भन्ने विश्वव्यापी सिद्धान्त रहेको छ । तर नेपालमा भने माओवादी केन्द्रले प्रायः सबै दललाई धोका दिएर आफ्नो स्वार्थ पूरा गर्दै आएको छ । राजनीतिलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गरिने अनेक प्रयासहरु भएका छन् । जनताले नै राजनीति दलहरुको हैसियत तोकिदिने गरेका छन् ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कांग्रेसलाई पहिलो, एमालेलाई दोस्रो र माओवादीलाई तेस्रो हैसियतमा जनताले निर्धारण गरिदिएका छन् । कांग्रेस ८८, एमालेले ७८ सिट र माओवादीले ३२ सिटमा जित हाँसिलगरेको थियो तर प्रधानमन्त्री दाहालको प्रधानमन्त्री बन्ने तिव्र चाहना भएकाले उनी जोसँग पनि जस्तोसुकै सहमति गर्न तयार रहेर कहिले कांग्रेस त कहिले एमालेको शरणमा पुग्ने गरेका थिए । एमालेले उनलाई शरण दियो र प्रधानमन्त्री बनाइदियो तर दाहालले त्यो गुणलाई कांग्रेसको पाउमा विसर्जन गरिदिए । अहिले उनी कांग्रेसको आदेश पालकका रुपमा प्रधानमन्त्रीमा आसिन रहेका छन् ।
मुलुक अस्थिर राजनीति चक्रमा फसेको छ । विकास निर्माणका कार्यहरु अवरुद्ध भएका छन् । जनता महंगीको मारमा परेका छन् तर दाहाल सरकारलाई त्यसका कुनै असर परेको छैन । कसरी आफ्नो कुर्सी बचाउने भन्ने मै व्यस्त रहेको छ । प्रधानमन्त्री दाहालले पछिल्लो समयमा सरकारको नेतृत्व गरिरहँदा पनि नेपाल र नेपाली जनताको हितमा भन्दा दक्षिणी छिमेकी मुलुकको हितमा बढी ध्यान दिएका छन् । जस्को प्रत्यक्ष उदाहरण हो भारतबाट आयतित तरकारीमा विषादी परिक्षण गर्न रोक लगाउनु ।
नेपाली कृषकहरुले उत्पादन गरेको तरकारीले बजार पाएको छैन । कृषकहरु सडकमा तरकारी फ्याक्न बाध्य भएका छन् । कृषकहरुले समयमै मल विऊ विजनसम्म पाउन नसकेको अवस्थामा सरकारले कृषकलाई मलमा दिँदै आएको अनुदान घटाएर फेरी कृषकहरुमाथि प्रहार गरेको छ । छिमेकी मुलुक रिसाउँछ भन्दै नेपाली जनताको हित विपरितको कार्य गर्ने दाहाल सरकारलाई जनताले आफ्नो हितको सरकार भन्न सक्ने अवस्था देखिएको छैन । आफ्ना देश र आफ्ना जनताको सेवाका लागि राजनीति गर्नुपर्नेमा आफ्नो व्यक्तिगत स्वार्थका लागि दाहालले जनतालाई झुक्याउँदै राजनीति गरेको हामीले ठानेका छौँ ।

footer