kumari
stcnepal

यिनै शिखण्डी चरित्र बोकेर चिहानको परिक्रमा गरिरहने ?

 

राजन कार्की
महाभारतमा देवव्रत—भीष्मपितामह मूलपात्र हुन् । भीष्मले हस्तिनापुरका राजकुमारका लागि काशी राजकुमारी अम्बा, अम्बिका, अम्बालिकालाई अपहरण गरेर ल्याउँछन्, अम्बिकाले अर्कैसँग प्रेम गरेको बताएपछि उनलाई उनको प्रेमीकोमा पठाउँछन् । प्रेमीले अर्काले हरण गरेकीलाई स्वीकार गर्न सक्दिन, तिमीले अपहरण ग¥यौ, तिमीले नै विवाह गर्नुपर्छ भनेर भीष्मसँग जिरह गर्छिन् । भीष्मले आफू भीष्म प्रतिज्ञामा बाँधिएकाले विवाह गर्न नसक्ने बताएपछि अम्बाले प्रतिषोध लिने र मृत्युको कारण बन्ने सराप दिन्छिन् । महाभारतमा अम्बाले भीष्मसँग प्रतिषोध लिन तीन जन्म लिएको कथा छ । महाभारतको युद्ध हुँदा अम्बा शिखण्डीको स्वरूपमा जन्म लिएकी थिइन् ।

भीष्म कुनै पनि नारीसँग युद्ध गर्ने छैन भनेर वचनबद्ध थिए । यही वचनबद्धताका कारण युद्धका समयमा श्रीकृष्णले पाण्डवका सामु शिखण्डीरूपी अम्बिकालाई उभ्याइदिन्छन् तथापि उनी यक्षबाट दानमा पाएको लिङ्गधारी भएकाले स्वरूपमात्र नारी—सशरीर पुरूष नै थिए । यो सत्यबाट अनभिज्ञ भीष्म शिखण्डीका वाण र अर्जुनका उस्तै उस्तै वाणको प्रतिकार गर्न सक्दैनन् र भीष्म वाणको शैयामा पुग्छन् । पछि इच्छा मृत्यु मर्छन् । अर्थात् शिखण्डी अम्बिका पाण्डवको जित सुनिश्चित गर्ने प्रमुख पात्र, भीष्मको मृत्युको कारण बन्छिन् ।
महाभारतको कथा र नेपालको राजनीतिक परिदृश्य मिल्छन् । किनकि– विदेशी श्रीकृष्ण बनेका छन् । लोकतन्त्रका नायकहरु छ विदेशीले उभ्याएका शिखण्डीजस्ता लाग्छन् । यहीकारण आज लोकतन्त्रले, नेपालले, नेपालीले अस्तित्व हारिरहेका छन् ।

००७ सालमा रक्सौल बैठकमा वीपीलाई भेट्न ६ घण्टा कुर्नुपरेको र भेटेपछि उपेक्षा गरेको घटनाले मनमा किला ठोकेजस्तो पीडावोध गरेका विष्णुबहादुर मानन्धरले कांग्रेस परित्याग गरी २००९ सालमा कम्युनिष्ट बन्नुभएको थियो । २०१५ सालको आमनिर्वाचन जित्ने ४ मध्येका रौतहटबाट विजयी कम्युनिष्ट पनि विष्णुबहादुर मानन्धर नै हुनुहुन्थ्यो । मानन्धरलगायतका कम्युनिष्टहरू राजतन्त्र बिरोधी थिए ।
तत्कालीन अवस्थामा गौरीशङ्कर छात्रसमिति पनि थियो, यो समितिका लक्ष्मण घिमिरे, शिवबहादुर खड्का, विपिन कोइराला, भवेन्द्र खड्का, श्रवण कोइराला, हेमन्त कोइराला, भरत बरालहरूले पञ्चायतमात्र होइन, राजतन्त्रै फाल्नुपर्छ भनेर रगतको ल्याप्चेछाप लगाएको कम्युनिष्ट इतिहास पनि छ ।

२०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन हुँदाको दृश्य विष्णुबहादुर मानन्धरले देखेरै मट्टी बिसाए । तर गणतन्त्रको आज हालत कस्तो छ, कल्पना बाहिरको कुरा हो । नसोचेको असफल परिणति भोगिरहेको गणतन्त्र ।
००७ सालमा प्रधानमन्त्री मोहनशमशेर, गृहमन्त्री वीपी कोइराला । मोहनशमशेरले संविधानसभा गराउँ, लाग्ने खर्च मै दिन्छु, राज्यको खर्च गर्नुपर्दैन भन्दा कांग्रेसले जित्दैन, नगर्ने भनेर पछि हट्नु भएको रहेछ त्यतिबेला, वीपी कोइराला ।
पत्रकार मदन शर्माले लेखेअनुसार २०१० सालको जाडोमा वीपी निवासमा वीपी, अचुतराज रेग्मी, पद्यशङ्कर अधिकारी मकलमा आगो तापिरहेका बेला बीपीले भन्नुभएछ— मैले मुक्तिसेना प्रयोग गरेर राजतन्त्र खत्तम गरिदिन, राति १२ बजे राजालाई क्याप्चर गर्न अर्डर दिइसकेको थिएँ तर कुरो फुस्किएर सुवर्णजीको कानमा पुगेछ र मलाई त्यसो नगर्न आग्रह गरे । अनि मैले दिइसकेको अर्डर फिर्ता लिएँ ।
अर्थात््, इतिहास भन्छ— राजतन्त्र समाप्त पार्ने ल्याकत र ताकत नेपाली राजनीतिका पात्र वा पार्टीमा थिएन ।०३६ र ०४६ सालमा कांग्रेस, कम्युनिष्टले दलमाथिको प्रतिबन्ध फुकुवा गर्न न्वारानको बल निकालेकै हो । नसकेर भारतीयलाई गुहारे । ०४६ सालमा त भारतीय नेताहरू डीपी त्रिपाठी, हरकिसन सिंह, डा.फारूकी, एमजे अकवर, सुब्रमण्यम स्वामीहरूको लस्कर गणेशमान सिंहको चाक्सीवासीमा आएर राजतन्त्रमात्र होइन, नेपालै सिध्याउने चर्को भाषणसमेत गरेका थिए । त्यो परिवर्तनमा भारतको ठूलो लगानी रह्यो ।
२०५८ सालमा दरवार हत्याकाण्ड नै भयो, राजतन्त्र फाल्नका लागि भारतले ७ दलको दिल्लीमा १२ बुँदे सम्झौता गरायो, आतङ्ककारी घोषित माओवादीलाई जनआन्दोलनमा मिसाइदियो र मिसाइल बनाएर सडकमा उता¥यो । त्यसपछि आजको परिवर्तन सम्भव भएको हो । गणतन्त्रपछि गण एकातिर तन्त्र अर्कोतिर, रथको पाङ्ग्रा खुस्कियो । नेताहरूको भूमिका शिखण्डीको भएकाले यस्तो दुरावस्था भएको हो । शिखण्डी भएकाले यिनले नयाँ नेपाल बनाउने सपना पूरा गर्न सकेनन्, कानुनव्यवस्था लथालिङ्ग पारिदिए ।
आज नेपाल त्यति ठूलो परिवर्तनपछि असफल राष्ट्रको भीरबाट गुल्टिने हालतमा छ ।
सिपाहीले साम्राज्य खडा गरेको इतिहास होः ‘टिपु सुल्तान’ । बाबु हैदर अलिले छोरा टिपुलाई दिमाग यस्तो चिज हो, त्यसलाई चिन्तनमा रगड्नुपर्छ, कोलमा पेलेझैं पेल्नुपर्छ, दिनुसम्म सास्ती दिनुपर्छ, तब स्वच्छ र सुन्दर सोचको विकास हुनसक्छ भनेर प्रशिक्षण दिए । नभन्दै समस्या, सङ्घर्ष र समाधानका उपायका सुझहरू विकास हुँदै गए र टिपु सुल्तान मैसुर साम्राज्य खडा गर्न सफल भए । यो हो भूमिपुत्रहरूका लागि प्रेरणाका स्रोत । देशकै कुरा गर्ने हो भने नेपाल निर्माता पृथ्वीनारायण शाह, बहादुर शाह, वीर बलभद्रका अनेक जाज्वल्यमान इतिहास छ । शिखण्डीको उद्देश्य मात्र राजतन्त्रसँग बदला लिनुथियो, यही अहंकारको परिणति निराशामात्र छ । जनयुद्ध र जनआन्दोलनमा मारिएका, बेपत्ता पारिएकाका परिवारजन छटपटिएर बाँचिरहेका छन् । तिनका लागि न्याय दिने काम शिखण्डीहरुले गरेनन्, आफै उम्कने छिद्र खोजिरहेका छन् ।
आज नेपाल दुरावस्थामा छ । न जनयुद्ध रह्यो, न जनआन्दोलन । परिवर्तित संविधानसमेत कागज भइसक्यो । हामी कागजको खोस्टो बोकेर संवैधानिक शासन भनिरहेछौं । यो कर्मकाण्डबाहेक बढी के हो र ?
नेपालको वर्णपटमा महाभारतको शिखण्डीको जगजगी झन बढेर गएको छ ।
स्वार्थको पछि लाग्ने विवेकहीनहरू भनेका अवसरवादी हुन् । शिखण्डी र अवसरवादीहरूलाई बाह्रै महिना दशैं आइरहेछ, घुस्याह यी डिठ्ठाहरूलार्ई लोकतन्त्र आँखा चिठ्ठा बनेको छ ।
नेपाल साउदीदेखि इजरायलसम्म, काबुलदेखि कंगोसम्म युवा निकासी गरेर राजनीतिक शासनव्यवस्था चलाउने अवस्थामा पुगेको छ ।
छ— वाद छ, तन्त्र छ, नीति छ, संयन्त्र छन् । सुनीति केही देखिदैनन्, कुटिलनीति राष्ट्रव्यापी छ । सबै नीतिमा नेता, नियन्ताको प्राथमिकता आत्मोन्नति, आत्मतृप्ति, आत्मसन्तुष्टि र आत्मकेन्द्रित छन् । आमकेन्द्रित छैनन् । ‘म’ केन्द्रित छन् । स्वार्थका सुल्तानहरू न्यायको घोडा चढेर बुर्कुसी मारिरहेका छन् । जनता पीडाले चिच्याइरहेछन् ।
समयको सुईले पलपल भनिरहेको छ— लोकतन्त्र कौडी पिचासहरूलाई आयो । सत्ताका भूत बन्न रूचाउनेहरूलाई आयो । राजनीतिलाई व्यवसाय बनाउनेहरूलाई आयो । यी रछ्यान हुन्, यिनमा चोखो मन र जनताको बलमा उभिने इच्छाशक्ति छैन । अन्धाका लागि ऐना, अन्धाले लोकतन्त्रको चस्मा लाए के नलाए के ? विदेशी शिखण्डी विवेकहीन फोस्राहरू फुस्रा गफ हाँकिरहेका छन् । जनविश्वास गुमाएको लोकतन्त्र आइसीयुबाट भेन्टिलेटरमा गइसक्यो । जनविश्वासमाथि यति ठूलो खेलबाड ? जुनसुकै देशका नेता केही घण्टाका लागि मात्रै नेपाल आयो भने पञ्चदेवलको हण्डी खान लाम लागेझैं लाग्नेहरूमा स्वाभिमान नभएको प्रमाण पाइला पाइलामा भेटिन्छ ।
मिनु मसानीको ‘इभोल्यूसन थियोरी अफ सर्भाइवल’ भन्छ— जो सक्षम छ, ऊमात्र बाँच्छ । शिखण्डीहरु आफूलाई अब्बल सक्षम ठानेर बाँचिरहेका छन् । यो भ्रम कतिञ्जेलका लागि हो ? उनीहरु सोच्न पनि सक्दैनन् । यथार्थमा लोकतन्त्र शिखण्डीहरुले चलाउने सकेनन्, नेपालमा फिट नै भएन, सर्भाइभ नै गर्न सकेन ।
राजनीतिका शिखण्डीहरू मौका पायो कि बुद्ध बोकेर हिड्छन् । मौका प¥यो कि बारूद पड्काउँछन् । अन्धविश्वास हटाउने भाषण तिनै गर्छन्, महिष पुजन र गुरूको पाउमा उनै ढोग्छन् । रावणको चरित्र बोकेर राम राम भन्छन् । साइत छोपेर स्वार्थ पूरा गर्न बिछट्ट सिपालु छन् । यसकारण त यी परिवर्तनका बाहकहरू स्वाधीनताको धर्तीमा पराधीनताको साम्राज्य खडा गर्ने लोकतन्त्र ‘खतरनाक क्रियचर्सहरू बास गर्ने पेण्डोराको बाकस’ भन्दा कम देखिदैनन् ।
‘डेभेलपमेन्ट अफ फ्रिडम’ मा अमत्र्यसेनले लेखेका छन्— गुलाफको फूल भनेपछि फूलमा सुगन्ध हुनैपर्छ । जनयुद्धलाई वसन्त पर्व भन्नेहरू कागजी फूल देखाएर १५ वर्षदेखि हरेक दिन शक्ति, सत्तासुन्दरीसँग भेलेन्टाइन मनाइरहेका छन् । भक्ति थापा वीर थिए, यी ढुङ्गे सिंहहरू अम्बिकाको शिखण्डी अवतार हुन् ?
लोकतन्त्रमा कस्तुरीको सुवास आउनुपर्ने स्वर्गसरि नेपालमा कुहिगन्धे धुवाँ कसरी चल्यो ? यो सबै नेतृत्वको दिमागमा शिखण्डीको बासको कमाल हो । १८१५ डिसेम्बर २ मा गीर्वाणविक्रमको पञ्जाछाप बोकेर गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्याय सुगौली सन्धिमा बृटिश इण्डियाको शिखण्डी बनेपछि वर्तमान नेपालको लोकतन्त्रसम्म आइपुग्दा शिखण्डीको भूतले नेपाललाई झन गाँजेको छ ।
अब पनि जनता नचेत्ने ? यिनै शिखण्डी चरित्र बोकेर चिहानको परिक्रमा गरिरहने ?

footer