सेयर धितो र रियलस्टेट कर्जाको जोखिमभार १५० बाट घटाएर १०० प्रतिशत
वि.सं.२०८० साउन ७ आइतवार १६:३९
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँ सम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पारेको छ । राष्ट्र बैंकले आइतबार घोषणा गरेको मौद्रिक नीतिमा सेयर बजार र घरजग्गामा दिने कर्जामा जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
राष्ट्र बैंकले गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँ सम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत बाट घटाएर १०० प्रतिशत बनाए बताएका छन् । यसअघि सबै कर्जाको नभई २५ लाख रुपैयाँ सम्मको कर्जामा जोखिम भार १०० प्रतिशत र त्यस भन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।
सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल स्टेटमा जोखिम भार १५० बाट १०० मा झारेको उनले बताए । अन्य रियलस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उनले बताए । यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले दिए ।



































