लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान
वि.सं.२०८३ कात्तिक २२ आइतवार १२:२२
shares

काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको हो ।
गत वर्षहरूको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को माग बढ्ने अनुमान गरिएको छ । तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले साँझको समयमा विद्युत्को माग उच्च हुने गर्छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको साँझ अनुमान गरिएको माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुनेछ । उनका अनुसार उक्त समयमा विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण छ । यसले गर्दा मागभन्दा उत्पादन बढी हुने र आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उनले बताए ।
लक्ष्मीपूजाको साँझ विद्युत्को माग पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको छ । २०७९ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ३ सय ५ मेगावाट थियो । २०८० सालमा बढेर १ हजार ४ सय ३८ मेगावाट पुगेको थियो भने २०८१ सालमा १ हजार ६ सय २ मेगावाट पुगेको थियो । गत वर्ष २०८२ सालको लक्ष्मीपूजामा यस्तो माग १ हजार ६ सय ५० मेगावाट पुगेको थियो ।यस वर्ष प्राधिकरणले गरेको प्रक्षेपणअनुसार माग १ हजार ७०० मेगावाट पुग्नेछ । अर्थात् चार वर्षको अवधिमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब ४ सय मेगावाटले बढ्ने देखिएको छ ।यस वर्ष विद्युत्को मागभन्दा उत्पादन बढी भएकाले आपूर्तिमा समस्या नआउने प्राधिकरणले जनाएको छ ।
तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राख्ने तयारी गरेको छ । पर्व अवधिभर प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने तथा प्रसारण लाइन र वितरण प्रणालीमा हुन सक्ने समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या आउन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । नो लाइट सेवामा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न र आवश्यक मर्मतसम्भारका लागि प्राविधिक टोली तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।




































