kumari
stcnepal

काठमाडौँ महानगरको कार्यालय भवन शिलान्यास

 

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार(आज) काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो ।
काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवम् कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपत्कालीन मार्ग तथा सुरक्षित भ–याङ रहने बताइएको छ ।

भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए । उनले भने, ‘आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् । रुख रोप्नु ठुलो कुरा हो,यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कसले खान्छ भन्ने ठुलो कुरा होइन ।’

महानगरका सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको उनले जानकारी दिए । महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए ।

महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्ग फुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सातौँ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ काठमाडौँ महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।

footer