kumari
stcnepal

डीडीसीका कर्मचारीहरु आन्दोलनमा उत्रिए

 

काठमाडौँ । भ्रष्टाचारीलाई कारवाही नगरेको भन्दै दुग्ध विकास संस्थान (डीडीसी)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । लैनचौरस्थित डीडीसी कार्यालयमा आन्दोलन गर्दै त्यहाँका कर्मचारी संघले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीहरुले डीडीसीको प्रवेशद्वारमै धर्ना दिएर मंगलबारदेखि आन्दोलन थालेका हुन् ।

डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरे पनि हालसम्म व्यवस्थापनले कारवाही नगरेको आन्दोलित कर्मचारीहरुको भनाइ छ । उपपमहाप्रबन्धक अधिकारीले डीडीसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिका साथै महालेखापरीक्षकको कार्यालयले पनि प्रतिवेदनमा उल्लेख गरेको थियो । महाप्रबन्धक पौडेलले हालसम्म उनलाई कारवाही नगरेको कर्मचारीहरुको भनाइ छ ।

संघका महासचिव आयुव अली खानका अनुसार महाप्रबन्धक पौडेल, उपमहाप्रबन्धक अधिकारीका साथै अन्य अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् । महाप्रबन्धक पौडेलमाथि डीडीसीको बटरमा अनियमितता गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै डीडीसीमा छापा मारिसकेको छ भने यसबारे अनुसन्धान जारी छ ।

अन्य निकायले पनि डीडीसीमा भएको अनियमितताबारे छानविन गरिरहेका छन् । छानविन चलिरहेको समयमा उनीहरु नियमित काम काजमा रहँदा छानविनमै प्रभाव पर्न सक्ने भन्दै कर्मचारीले महाप्रबन्धक र उपमहाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।

footer