सर्लाहीको बरहथवामा पुन: कर्फ्यु, मृतकको शव सडकमै
वि.सं.२०८० पुस २२ आइतवार १४:३९
shares

अस्तिको प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्युपछि चर्किएको सर्लाही बरहथवाको अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले पुनः कर्फ्यु आदेश जारी गरेको छ । मृतकका आफन्तलाई क्षतिपूर्ति र स्थानीय अस्पतालबारे सहमति नभएपछि प्रदर्शन चर्किनसक्ने सम्भावनालाई ध्यानमा राखेर कर्फ्यु लगाइएको बताइएको छ ।
आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको आदेशमा प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान लागेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र ’क’ को १ र ३ बमोजिम कर्फ्यु लगाइएको उल्लेख छ । अस्तिको प्रदर्शनमा स्थानीय जयशंकर साहको गोली लागेर मृत्यु भएको थियो । उनको शव अस्तिदेखि सडकमै राखिएको छ ।




































