प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतान्त्रिक लाहुरेहरू हाइटी पुग्नै लागे

624
shares

राजन कार्की
२०६३ साल पछिका हरेक नेताको अनुहार किन लाहुरे लाहुरे देखिन्छ ? किन तिनलाई जन्मेको माटोभन्दा लाहुरको बढी चिन्ता लाग्छ ? आम लाहुरेले जन्मेको माटो, सन्तान, माया बिर्सिएनन् । राजनीतिक लाहुरेहरु त स्वदेशलाई भन्दा लाहुरको बढी चिन्ता गर्छन् । यसकारण त यिनलाई चुच्चे नक्सा दुख्दैन, नेपाली माटो सस्तो लाग्छ, नेपालीपनमा भन्दा बढी विदेशी स्वार्थमा लुटपुटिन रमाइलो लाग्छ । यसकारण नेपाल नेपाल कम, हाइटी हुँदै गएको छ ।
यी लोकतन्त्र सफल भयो भन्छन्, लोक विदेशीन बाध्य छ, मान्छे बेचेर लोकतन्त्र सफल भयो भन्नेहरू गजडी हाँसो हाँसिरहेका छ्न् ।
१२ बुँदे दिल्ली सम्झौतापछि नेपाल कहाँ थियो, कहाँ पुग्यो ? अझै पनि राजनीतिक नेताहरूले बहस नगर्ने ? पहिले सिपाहीहरू लाहुर जान्थे, पछि रोजगारी खोज्दै लाहुर जान थालियो । लोकतन्त्र आएपछि त खाडीदेखि ७२ मुलुकमा नेपाली लाहुरेहरु भेटिन्छन् । अवसरको खोजी, गाँसवासको बन्दोवस्त गर्दै लाहुर जाने भीड हरेक दिन एयरपोर्टमा देख्न सकिन्छ । लुकेर लुकाएर लाने मान्छेका व्यापारीहरू मान्छे बेचिरहेकै छन् ।

नेपाल मान्छे बेचिने बजार बन्यो । लाहुरे लोकतन्त्र असफल राष्ट्र हाइटी पुग्नै लाग्यो ।लज्जा पनि लज्जित हुनेगरी लोकका नेता कति नाङ्गिन सकेका ? जय नेपाल, लाल सलाम भन्नेहरुले लगौंटी पनि बाँकी राखेनन् । सहारा र सल्लाहका लागि वर्षको चालिसचोटी दिल्ली वा लैनचौरदेखि वाशिङ्टनमा छलाङ्ग लगाउनेहरुले घुमाएर कान समाएको शैलीमा अव ‘जय हिन्द’ ‘यस सर’ नै भन्न थाले । लाग्छ, लोकतन्त्रवादी नामधारीहरूले अरु केही जानेकै छैनन् । यिनको लोकतन्त्र एक्सप्रेसको गति–मतिको बेगले नेपालीत्व सखाप हुँदैछ । गौरवपूर्ण नेपाल हाइटीजस्तो असफल राष्ट्र बन्दैछ ।

 

१२ बुँदे दिल्ली सम्झौतापछि नेपाल कहाँ थियो, कहाँ पुग्यो ? अझै पनि राजनीतिक नेताहरूले बहस नगर्ने ? पहिले सिपाहीहरू लाहुर जान्थे, पछि रोजगारी खोज्दै लाहुर जान थालियो ।

जनयुद्ध गरुन् कि जनआन्दोलन, लोकतन्त्र भनुन् कि समाजवाद, यिनले कहिले विश्लेषण गरेनन्, नेपालको खास समस्या र समाधान के हो ? यिनलाई जहिले पनि स्वार्थको लुते धन्दाले पिरोलिरह्यो । त्यसैले त यिनले बनाएको संविधान यतिबेला न्याय नपाए गोर्खा जानु भन्ने राम शाहको नामकै रामशाह पथमा बलात्कृत भइरहेको छ ।्

स्वीट्जरलैण्डको प्रतिव्यक्ति आय ३० हजार डलर छ, सिंगापुरको २५ हजार । स्वीट्जरलैण्ड र सिंगापुरजस्तै साधन स्रोत सम्पन्न देश नेपालीको प्रतिव्यक्ति आय ३ सय पनि छैन । ८० प्रतिशत जनता एकछाक भोकै बस्छन् भन्दा नेताहरुलाई हीनताबोध हुँदैन । हिजो कृषि प्रधान देश थियो, त्यसपछि हरियो बन नेपालको धन भनियो । राजनीति र कूशासनको भ्रष्टाचारले कृषि र बन धरासायी भएपछि प्रकृति र पर्यटनलाई नेपालका लागि बरदानको आधार मानियो । जनयुध्द र अस्थिरताको प्रहारले राष्ट्र छिया–छिया भएपछि जलस्रोतलाई सेतो सुन भनिदैछ ।

यो सेतो सुनबत्ती नेपालीले १२ रुपैयाँ युनिटमा बाल्छन्, ४ रुपियाँमा भारत निकासी हुनथालेको छ । यो कस्तो विकास हो ? यसअघि नेपालले लोडसेडिङ हटाउन भारतबाट प्रतियुनिट १० मा खरिद गरेको थियो । किन्दा प्रतियुनिट १०, बेच्दा ४ । यति ठूलो शोषण ? नेपाल किन यसरी भारतका सामु चाउरिन पुगेको ? स्वाभिमान भन्ने किन कुनै नेतामा छैन ?

२००८ सालमा कोसी, २०१६ सालमा गण्डकी, २०५१ सालमा महाकाली, २०५२ सालमा मेची र २०६३ सालपछि कर्णाली र सेतीजस्ता ठूला–ठूला नदीनालामा भारतको हैकम स्थापित गर्नपुग्यौं । भूपू प्रधानमन्त्री डा.बाबुराम भट्टराई भन्छन्– बुढी गण्डकीमा ओली, प्रचण्ड र माधव नेपालले ३ अर्वका दरले घूस खाए, प्रमाण मसँग छ । प्रमाणित नभए झुण्डिएर मर्छु । तर कुनै कानुनले तिनलाई छुँदैन । किन ? यही हो लोकतन्त्र ? कहाँ छ जवाफदेहीता ?

जलस्रोतमा ब्राजिलपछि विश्वको दोस्रो धनी देश नेपाल भारतबाट विद्युत आयात गरेर लोडसेडिङ् घटाउने बाध्यतामा थियो, बिस्तारै उत्पादन हुनथालेको छ । भारतलाई ३ रुपियाँमा जल बेचेर १० रुपियाँ युनिटमा जनशक्ति खरिद गर्ने निर्णयमा पुग्नु नेपाली नेतृत्व क्षमताको उपहास थियो, अहिले त्यही उपहास दोहोरिएको छ ।

कहिल्यै उपनिबेश बन्नु नपरेको नेपाल ‘बहादुर’ ‘कान्छा’बाट ‘आतंककारी’, ‘गार्ड’ र ‘कमारो’ ‘दास’ बन्दै ‘रेमिटान्स अर्थतन्त्र’को हाइटी स्तरमा झरिसकेको छ । हाइटी भनेको त्यो देश हो, जहाँका जनताले दुभालियरजस्ता भ्रष्ट नेता र उनका आज्ञाकारी प्रशासकहरुलाई शोषण गर्न र निरङ्कूशतन्त्र चलाउने मौन छुट दिएका छन् । त्यो हाइटी र यो नेपालमा आखिर फरक नै के बाँकी छ र ? न्याय दिने न्यायालय जो सडकमा नाङ्गेझार छ ।

लोकतान्त्रिक गणतन्त्र नेपाल टिनको पातामा लेखेको साइनबोर्डभन्दा बढी केही रहेन । हिजो इमान र योग्यताको कदर भएन, आज पनि बेइमानहरुको रजगज चलिरहेको छ । ९३ प्रतिशत बिपन्न, कमैया, कमलरी, सुकुम्बासी, बेरोजगार, असहायहरुलाई सपनाको व्यापार गर्ने सस्तो लोकतान्त्रिक बजार हो नेपाल । यहाँ सपना बेचेर कानुनको घोडा चढ्न सकिन्छ । जयप्रकाश मल्लले वर्षको एकपल्ट गाईजात्रा देखाएर शोकमा परेकी महारानीलाई मनोरञ्जन दिने गर्थे, हाम्रा नेताहरुले बाह्रैमास गाईजात्रा देखाइरहेका छन् । हामी गाईजात्रे, हाम्रो देश गाईजात्रे, लोकतन्त्र– अर्को गाइजात्रा हो । मध्ययुगीन तमासाहरू एकपछि अर्को देखिदैछन् । मान्छेले मान्छेको अपमान गर्नु सामान्य हुन थालेको छ ।

जनता मतदान गर्ने मेसिन बनेका छन् । नेता तिनै जनबल र जनमत दिने जनताको रगत पिउने जुकाजस्ता लाग्छन् । बिदेशी शक्तिले उभ्याइएका यी बुख्याँचाहरु जनतालाई तर्साउछन् र आफू अनुकूलको लोकतन्त्रमा विश्वास राख्छन् । नीति, निष्ठा र नैतिकताको कुनै अर्थ छैन । हरेक विषयमा बिमति राख्ने, आरोप प्रत्यारोपको महाभारत खडा गर्ने अनि सत्ताको भागबण्डा मिलाएर मौनता साध्नु यिनको लोकतन्त्र हो । यही कारण जिम्मेवार वा जवाफदेही कोही छैनन् । राष्ट्र नैतिकहीनताको खाडलमा जाकिदै गएको छ । लोकतन्त्र हात्ती हो कि हात्तीछापे चप्पल ? भन्न सकिन्न ।

जनताले खोजेकै हुन् परिवर्तन भने लौ त भनेर राजा ज्ञानेन्द्रले राजपाठ छाडिदिए । जालीहरुले जाल गरे, जनताको खोज र राजाको सोच पुरा भएन । महाभारतका दृष्टिहीन राजा र लोकतन्त्रका विवेकहीन नेताहरुमा भिन्नता देखिन छाडेको छ । यति हुँदा पनि सुकुलगुण्डाहरुमा चेत पलाएको छैन । नकचरोको ओखती हुन्न भनेको यही हो । लोकतन्त्रको जप गर्ने नेताहरु लोकतन्त्रमा हुनैपर्ने विधिलाई कुल्चेर बुर्कुसी मारिरहेका छन् । लोकतान्त्रिक नेपाललाई जंगल बनासके ।

सार्वभौमिक पहिचानको कुरा गर्ने हो भने भेटिकनदेखि भुटानसम्म, बंगलादेशदेखि बर्मासम्म विश्वसमुदायमा समान छन् । नेपालमात्र भारतको सामु मुखले बोल्न सक्दैन, नाकले सुघ्छ र पुच्छर हल्लाईरहन्छ । अब बेइजिङ र वाशिङ्टन पनि शक्ति र सामलका साथ नेपालमा प्रभावकारी रुपमा छिरेपछि नेपालको राजनीति अन्यौलमा धकेलिएको छ । यो अन्यौलको अँध्यारोमा टुकी बाल्ने परराष्ट्रनीतिले हो । यो नीति हाँक्ने अब्बल पात्रहरु पछाडि परेका छन् । अगाडि जो छन्, मौसमअनुसारको ट्यूनिक लगाउनेहरुमात्र देखिन्छन् । नेपाल नीतिहीन अवस्थातिर उन्मुख छ ।

अर्थात आत्मशक्ति गुमाएर घ्राणशक्तिमा पुगेको छ नेपाल । जब राजनीति व्यवसाय बन्छ, काला व्यापारीहरुले टाउको उठाउँछन् । पार्टीहरु अपराधीलाई चोख्याउने चोखो तीर्थस्थल बन्छ, भ्रष्टहरुको सेटिङ्मा चल्छ, देश महिनौं फोहर नउठाएको महानगरको कन्टेनर बन्नु स्वभाविक हो । यस्तो फोहरी राजनीतिमा गुह्य किरा नजन्मे के जन्मिन्छ ?नेपाली लोकतान्त्रिक राजनीतिक परिदृश्य यस्तै छ ।
यथार्थ कुरो के हो भने, जनतासँग डराउनेहरु तानाशाह बन्दैनन् । जनतालाई भयाक्रान्त पारेर राजनीतिक बर्गले सर्बसत्तावाद चलाउन थालेकाले लोकतन्त्र बाहुबलीतन्त्र बन्न पुगेको हो । सच्चिने र सच्याउने काम तत्काल गरिएन भने नेपाल हाइटीजस्तो असफल हुनबाट जोगिन मुस्किल छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports