रामदेव र आचार्य पशुपतिमा योग शिविरको आयोजना गरिने
वि.सं.२०७८ मंसिर ४ शनिवार १९:१२
shares
काठमाडौँ, ४ मङ्सिर चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर : रासस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान ५ बजे पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ । उक्त योग शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।आइतबार नै मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपति नाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका सह–सचिब डा.टोकराज पाण्डेयले बताए।
उनले भने, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीहरूको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिइएको छ ।
उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रूपमा प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ । शिविरमा दसौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा रहेको छ । योग शिविर पश्चात् योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योगगुरु रामदेवले आज शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए ।





































